• १७ असार २०८१, सोमबार

धान दिवस (कविता)

blog

वर्षा ऋतु आएसँगै धान रोपाइँ कर्म ।

मेलापात हात साट्दै लगाइन्छ पर्म ।।

उपत्यका तराई र पहाडका गरा ।

धान रोपी जताततै पार्छौ हराभरा ।।


हलीदाईले गोरु नार्दै हिलो सम्याउने ।

हिलो खेल्दै लाठे रोपार दर्शक रमाउने ।।

धानको गाभा शिरमा लगाइ जमरा हो ठान्छौ ।

दसँै पर्व आयो भन्दै हर्ष विभोर मान्छौ ।।


प्रधान कृषि देश हाम्रो सर्वोपरी धन ।

धानै बढी फलाउन लाग्छन् तन–मन ।।

मानु रोपी मुठी फल्ने धानको भात मीठो ।

रोपारले धान रोप्छन् बाउसे गर्ने ठिटो ।।


धानको बिउ हातमा लिइ ठिक ठाउँमा रोप ।

बेठी नारी गीत गाए मादलुलाई ठोक ।।

कहिले झरी कहिले बादल घाम घमाइलो ।

संस्कृतिको जगेर्ना हो रोपाइ रमाइलो ।।


बिउ राख्ने व्यहाडमा गराछेउ आली ।

खेतमा धान रोपेपछि फल्छ धानको बाली ।।

मलजल गोडमेलले धान धेरै फल्छ ।

असार पन्ध्र धान दिवस नेपाल भरी चल्छ ।।