• १७ असार २०८१, सोमबार

कहाँ कहाँ खोजौँ म ? (कविता)

blog

कहाँ कहाँ बस्छौ तिमी कता खोज्न जाऊँ ?

जताजतै जे जति देख्छु तिम्रै रूपमा पाऊँ ।।


मन्द मन्द पवन बनी सिर सिर गर्दैछौ कि ?

सुन्दर हिमालबाट बग्ने हिमनदी पो हौ कि ?


पन्छी बनी वनमा बसी गीत गाउँदैछौ कि ?

अनेक थरि फूल भरि रङ भर्ने तिमी हौ कि ?


आकाश भरि टिम टिम गरी चम्किदैछौ कि ?

धरती भरि जीवन बनी हिँड्ने तिमी हौ कि ?


सुख दुःख हाँसो रोदन तिम्रै सृजन हो कि ?

दया माया क्षमा र करुणा भावमा छौ कि ?


नजर घुमाइ बाहिर बाहिर जताततै हेरेँ ।

आफैँभित्र आफैँलाई हेर्न चाहिँ मैले भुलेँ ।।