• १६ असार २०८१, आइतबार

मदन भण्डारीको ७३ औं जन्मजयन्ती

नेपालको राजनीतिमा भण्डारीको अविस्मरणीय योगदान

blog

काठमाडौं,  असार १४ गते । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७३ औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननेता भण्डारीको जन्मजयन्तीको सन्दर्भमा उहाँले नेपाली सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा गर्नुभएको योगदानका विषयमा सबैले स्मरण गर्ने गरेका छन् । 

स्वर्गीय नेता भण्डारीले टुँडीखेलको भाषणमा भन्नुभएको थियो, ‘कुराले चिउरा भिज्दैन’ सोही वाक्य स्मरण गर्दै एमाले नेतृ बिन्दा पाण्डेले देशको लोकतन्त्र, अर्थतन्त्रलाई मजबुत बनाउँदै नागरिकलाई सचेत र समाजमा भएका सबैखाले विभेद अन्त्यका लागि भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादलाई गम्भीर विश्लेषण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

पाण्डेले भन्नुभयो, “कुराले चिउरा भिज्नेवाला छैन त्यसले गर्दा हाम्रो सोच, व्यवहारमा पनि रुपान्तरण गर्नुपर्छ । तलदेखि माथिसम्म, माथिदेखि तलसम्म त्यो सिद्धान्तलाई आत्मसात् गरेर जान सक्ने वातावरण बनाउन जरुरी छ ।”

२०३४ सालमा मुक्तिमोर्चा र को–अर्डिनेसन केन्द्रबिच एकता भयो । भण्डारी हतियार उठाएर आतंकित बनाएरभन्दा जनताको चेतमा परिवर्तन गरेर समाज रुपान्तरणको प्रणाली बसाउन सके दिगो हुने कुरामा विश्वास राख्नुहुन्थ्यो ।

भण्डारी हतियार उठाएर आतङ्कित बनाएरभन्दा जनताको चेतमा परिवर्तन गरेर समाज रुपान्तरणको प्रणाली बसाउन सके दिगो हुने कुरामा विश्वास राख्नुहुन्थ्यो ।

नेपालको सन्दर्भमा आवश्यकता र परिस्थितिअनुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने कुरालाई जबजमार्फत २०४९ सालको महाधिवेशनबाट पारित गरिएको पाण्डे स्मरण गर्नुहुन्छ । यस्तै, कम्युनिष्ट भनेको सबै पार्टीबाट नियन्त्रित हुन्छन् भन्ने कुरालाई चिर्दै शक्ति पृथकीकरण, संविधानको सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र समग्र लोकतान्त्रिक प्रणाली अगाडि बढाउने विषयमा उहाँको योगदान रहेको पाण्डे बताउनुहुन्छ । 

यस्तै, नेकपा (माले) का महासचिव सीपी मैनालीले तत्कालीन अवस्थामा कम्युनिष्ट पार्टीको जनआधार तयार गर्न मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।  मैनालीले भन्नुभयो, “पुष्पलालले नेतृत्व गर्नुभएको कम्युनिष्ट पार्टीबाट अलग भएको एउटा मुक्ति मोर्चा समूह थियो । त्यसको महत्वपूर्ण नेताका रुपमा मोदनाथ प्रश्रित र त्यसपछिका महत्वपूर्ण नेताका रुपमा मदन भण्डारी हुनुहुन्थ्यो । २०३४ सालमा नेकपा (माले) र मुक्ति मोर्चासँग एकीकरण भयो । त्यो बेला पश्चिम भागमा सङ्गठन विस्तार गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।”

मदन भण्डारीको जन्म विसं. २००९ मा ताप्लेजुङको ढुङ्गेसाँघुमा बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको कोखबाट माइलो  सन्तानका रुपमा भएको थियो । उहाँले भन्नुभयो, “ताप्लेजुङमा जन्मनुभयो, उहाँहरु मोरङमा धेरै बस्नुहुन्थ्यो । त्यसबेला कोशी अञ्चलको प्रमुखमा रहेर सङ्गठन बनाउने काम गर्नुभयो ।”

उहाँले तत्कालीन अवस्थामा एमालेलाई डेमोक्रेटिक पार्टीका रुपमा अगाडि बढाउन पनि भण्डारीको भूमिका रहेको चर्चा गर्नुभयो । मैनालीले भन्नुभयो, “२०४९ सालको नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट कम्युनिष्ट पार्टीमा खुकुलो सिद्धान्त अगाडि सार्नुभयो ।

जनताको जनवादका १३, १४ वटा विषय तत्कालीन संसदीय अवस्थामा राजनीतिक आन्दोलनका निमित्त उपयोगी विषयहरु नै थिए । मार्क्सवाद, लेनिनवाद कम्युनिष्ट सिद्धान्त बोकेको एमालेलाई डेमोक्रेटिक सोसियलिष्ट सिद्धान्त अघि सारेर आफ्नो जनआधार बनाउन ठूलो भूमिका खेल्यो । माक्र्सवाद चरित्रमा चुके पनि कांग्रेससँगको प्रतिस्पर्धामा सफलतापूर्वक उत्रने काम भयो ।”

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले स्वर्गीय नेता भण्डारीलाई क्रियाशील, सैद्धान्तिक, देशभक्त चरित्रका, निरङ्कुशताविरुद्धको आन्दोलनमा योगदान गरेको नेताको रुपमा स्मरण गर्नुहुन्छ ।

कट्टेलले भन्नुभयो, “२०४६ सालपछि लोकतन्त्रको लागि संयुक्त जनआन्दोलनमा पार्टीलाई नेतृत्व गर्नुभयो । दोस्रो कुरा टनकपुर प्रकरणमा राष्ट्रियताको पक्षमा उभिनुभयो ।” 

तत्कालीन अवस्थामा एमालेलाई डेमोक्रेटिक पार्टीका रुपमा अगाडि बढाउन पनि भण्डारीको भूमिका रहेको चर्चा गर्नुभयो ।

यस्तै, नेतृ पाण्डेले भण्डारीको अनुपस्थितिमा उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त खासगरी वामपन्थी आन्दोलनमा पुर्‍य ाउनुभएको योगदान, मर्म र भावनाको कदर गर्नुपर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “समाज, राज्यभित्रको लोकतन्त्रीकरणको जुन कुरा गर्नुभाथ्यो, त्यो पार्टीभित्र या राज्यसत्तामा जाँदा कति लागू गर्न सक्यौं ? यो समीक्षाको विषय होला । आज सहकारी जबजको भावनाअनुसार हामीले चलाउन सकेका छौं त ? समग्र रुपमा विश्लेषण गरेर जुन जुन ठाउँमा कमीकमजोरी भएका छन्, तिनलाई सुधार गरेर जानसक्यौं भने लोकतन्त्रलाई थप मजबुत बनाउँदै जान सक्छौं ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।