• १७ असार २०८१, सोमबार

पर्यटन प्रवर्धन प्राथमिकतामा

blog

बुलबुले समाचारदाता 

सुर्खेत, असार १३ गते । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले औद्योगिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको छ । आगामी आर्थिक वर्षका लागि पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताका आधारमा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । 

रोजगारीमा आधारित उद्योगलाई प्रवर्धन गर्ने, उद्यमशीलता विकास तथा महिला आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्नेलगायत कार्यक्रमलाई आगामी आवमा सञ्चालन गरिने भनाइ मन्त्रालयको छ । आगामी आवको बजेटमा केही नयाँ खालका कार्यक्रम राखिएको मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख रेनुका न्यौपानेले जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवर्धनका लागि प्रमुख पर्यटकीय स्थलको संरक्षण र संवर्धन गर्न पर्यटन गुरुयोजना निर्माण गर्ने बताउनुभयो । 

निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा रहेका कटकुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गरिने छ । मुख्य पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेका मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रुकुमपश्चिमको स्यार्पु तालको संरक्षण र विकास गर्न पर्यटन पूर्वाधार कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । मन्त्रालयले हरियाली प्रवर्धन कार्यक्रममा पनि जोड दिएको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको मुख्य सहरी क्षेत्र तथा नदी किनारमा सहरी हरियाली प्रवर्धन कार्यक्रम गरिने छ । 

त्यसका लागि प्रदेश राजधानी हरियाली कार्यक्रम सुरु हुने छ । मन्त्रालयले जलवायु अनुकूलन कार्यक्रमसमेत सुरु गर्ने योजना बनाएको छ । जलवायु परिवर्तनका नकारात्मक प्रभावको न्यूनीकरण गर्न लेक तथा पाटन संरक्षण रणनीति कार्यान्वयन गरी कार्यक्रम कार्यान्वयन गरिने छ । आगामी आव २०८१/८२ मा जलाधार क्षेत्रको दिगो विकासका लागि एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम सुरु गरिने छ । भूक्षय नियन्त्रण, जमिनको उत्पादकत्व वृद्धि र पानी स्रोतहरूको दिगो व्यवस्थापनका लागि प्राकृतिक जल पुनर्भरण पोखरीमार्फत बहुआयामिक उपयोग, वातावरण संरक्षण, पारिस्थितिकीय प्रणाली तथा जैविक विविधतालाई बढावा दिने गरी कार्यक्रम सञ्चालन हुने छन् ।

यसैबिच चालु आवमै लागु हुने गरी मन्त्रालयले पर्यटन पूर्वाधारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अघि बढाएको छ । सोहीबमोजिम पर्यटकीय स्थलको संरक्षण र संवर्धन गर्न पर्यटन गुरुयोजना क्रमशः कार्यान्वयन गर्दै लगिएको छ । चालु आवमा कर्णाली प्रदेशको वन नियमावली, २०८०; पर्यटन नियमावली, २०८० र उद्योग नियमावली, २०८० निर्माण भएको छ । यस्तै मन्त्रालयले पर्यटकीय पूर्वाधार विकासका लागि बहुवर्षीय आयोजना स्वीकृत गरेको छ भने जडीबुटी निकासी, बिरुवा उत्पादन गरेर वृक्षरोपण, वन क्षेत्र संरक्षणलगायतका उपलब्धि यो वर्ष भएको मन्त्रालयले जनाएको छ । 

बिस करोड बजेट घट्यो

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको करिब २० करोड बजेट घटेको छ । आव २०८१/८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा मन्त्रालयको वार्षिक बजेट कटौती गरिएको हो । प्रदेश सभामा पेस गरिएको बजेटमा मन्त्रालयलाई आगामी वर्षका लागि एक अर्ब ९४ करोड विनियोजन गरिएको छ । चालु आव २०८०/८१ मा दुई अर्ब १४ करोड विनियोजन गरिएको थियो । बजेट कटौती भएपछि मन्त्रालयले सीमित कार्यक्रम मात्र कार्यान्वयन हुने जनाएको छ । चालु आवमा तीन सयभन्दा बढी योजना कार्यान्वयन भएका थिएनन् । प्रदेश सरकारले १५ लाखभन्दा मुनिका योजना कार्यान्वयन नगर्ने नीति अवलम्बन गरेपछि ३२९ वटा योजना चालु आवमा कार्यान्वयन नभएका हुन् । चालु आवमा मन्त्रालयका ३२९ योजना छनोटमा परेका थिए । यद्यपि केही योजना कटौती भए पनि महत्वपूर्ण योजना कार्यान्वयन भइरहेको जनाएको छ । 

मन्त्रालयले चालु आवमा न्यून मात्र बजेट कार्यान्वयन गरेको छ । हालसम्म कुल बजेटको ४०.२७ प्रतिशत मात्र बजेट कार्यान्वयन गरेको छ । पुँजीगततर्फ २७.५६ र चालुतर्फ ५५.५१ प्रतिशत मात्र बजेट कार्यान्वयन गरेको छ ।