• ९ वैशाख २०८२, मङ्गलबार

क्षयरोग नियन्त्रण अभियान प्रभावकारी

blog

बुटवल समाचारदाता 

बुटवल, वैशाख ९ गते । रुपन्देहीमा क्षयरोग नियन्त्रण अभियान प्रभावकारी बनेको छ । रुपन्देहीमा पछिल्लो साढे एक वर्षमा दुई हजार ७७९ जनामा क्षयरोगका बिरामी फेला परेका छन् । उक्त अवधिमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल पर्सन टीकाराम अधिकारीले विगतको तुलनामा क्षयरोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि क्षयरोगीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको बताउनुभयो ।  

तर उपचाररत बिरामीले दुई महिनासम्म औषधी सेवन गरे निको भएको ठानेर त्यसपछि नियमित औषधी सेवन नगर्नाले समस्या बल्झिने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा क्षयरोगको उपचारका लागि १२२ वटा डट्स केन्द्र, १६ स्थानमा परीक्षणका लागि माइक्रोस्कोपी र २५ स्थानमा प्रयोगशाला उपलब्ध रहेको छ ।

बुटवल उपमहागरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले समयमै रोगको पहिचान नहुनु, नियमित औषधी सेवन नगर्नु र एचआइभीलगायत अन्य रोगको समेत सङ्क्रमण हुनु क्षयरोगबाट मृत्यु हुने प्रमुख कारण रहेको बताउनुभयो । 

समाजमा अझै पनि क्षयरोग भएकाले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भइरहेको पाण्डेको भनाइ छ । पछिल्लो दुई वर्षदेखि क्षयरोग उन्मूलनका लागि उपमहानगरले समुदायस्तरमै पुगेर खोजी अभियान सञ्चालन गरिरहेको छ । प्रमुख पाण्डेका अनुसार यो अभियानले समुदायमा लुकेर रहेका बिरामीलाई उपचारको दायरामा ल्याउन सफलता मिलेको छ । 

पाण्डेले बुटवलमा गत वर्षदेखि नै १९ वटै वडाका विभिन्न ठाउँमा क्षयरोग परीक्षण शिविर आयोजना गरी नयाँ बिरामी पहिचान गर्ने अभियानले क्षयरोगीको सङ्ख्या बढ्न नसकेको बताउनुभयो । 

बुटवल उपमहानगरपालिकामा क्षयरोगको उपचारका लागि दर्ता भएका ४२९ जना क्षयरोगीमध्ये ३९३ जना निको भएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्ममा बुटवलमा क्षयरोगका २२० नयाँ बिरामी भेटिएका छन् । क्षयरोग नियन्त्रण अभियान सञ्चालन गरिए पनि क्षयरोगी फेला पर्ने क्रम भने रोकिएको छैन ।