• १२ असोज २०८१, शनिबार

देखासिकीमा जबरजस्ती योग गर्नुहुँदैन

blog

चिकित्सक वा योग शिक्षकको निगरानीमा मात्र योग गरौँ 

काठमाडौँ, असार ७ गते । आयुर्वेद चिकित्सक डा. सुबोध मिश्रले जबरजस्ती योग नगर्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो।

 उहाँ भन्नुहुन्छ, “ जबरजस्ती अरूको देखासिकी गरेर योगा गर्नु हुँदैन । निरन्तरताको सङ्कल्प जरुरी छ । योगा मेरो, परिवार र समाजको लागि हो भन्ने भाव हृदयदेखि आउनुपर्छ ।”

उहाँका अनुसार योग गर्दा सावधानी अपनाउनुपर्छ । पुस्तक हेरेर वा टिभी हेरेर योग गर्दा अनेक स्वास्थ्य जटिलता आउने हुँदा चिकित्सक वा योग शिक्षकको निगरानीमा गर्नु उपयुक्त हुने उहाँको सुझाव छ ।  

देखासिकीमा योग नगरी आफ्नो शरीरको अवस्था कस्तो छ भन्ने विचार गरेर मात्र योग गर्न उहाँको सुझाव छ । उहाँका अनुसार सबै योग सबैको शरीरका  लागि उपयुक्त नहुन सक्छ । विचार नगरी योग गर्दा शरीरमा फाइदा हुनुको सट्टा जटिलता हुने उहाँको भनाई छ । 

योग भनेको के हो ?

योग संस्कृत शब्द युजबाट आएको हो । यसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो । डा. मिश्रका अनुसार भौतिक रूपमा स्वास्थ्य रहन शरीर र मनको मिलनै हो । आध्यात्मिक रूपमा व्यक्तिको चेतनालाई परम चेतनासँग मिलाउनु वा समाहित गर्नु योग हो । उहाँका अनुसार लोम, मोह, इज्या, क्रोध नियन्त्रण गर्नु नै योग हो । 

योगका धेरै मार्ग भए पनि चार वटा मुख्य मार्ग हुन । प्रबल इच्छा शक्ति भएका राजयोग गर्ने जसको ज्ञान छ उहाँहरूले ज्ञान योग गर्ने,भावनात्मक झुकाव भएकाले भक्तीयोग गर्ने सक्रिय प्रवृत्ति भएकाले कर्मयोग गर्ने । उहाँका अनुसार यो मार्ग मध्ये कुनै एउटा गरे पुग्छ ।  

योगका फाइदा 

उहाँका अनुसार योगका ८४ लाख आसन हुन्छन् । त्यसमध्ये सुर्यनमस्कार मात्र गर्न सकेमा सबै आसनको फाइदा पाउन सकिने उहाँ बताउनुहुन्छ । योगले सम्पूर्ण शरीरलाई सक्रिय बनाउँछ ।  पाँचन प्रणालीलाई राम्रो  बनाउँछ,  महिनावारीलाई नियमित बनाउँछ, तनाव व्यवस्थापन गर्छ । जोर्नी, ढाँड बलियो हुन्छ । फोक्सोको कार्यक्षमता वृद्धि गर्छ। सूर्यनमस्कार गर्न नसक्ने अवस्थामा कुर्सीमा बसेर योग गर्न सकिने उहाँ बताउनुहुन्छ । 

योगले मनको शुद्धीकरण गर्छ 

जनसुकै योगका आसनको अन्तिम विन्दु मनलाई नियन्त्रण गर्नु हो । अष्टाङ्ग योगले  नैतिक आत्म अनुशासन प्रदान गर्छ । योग गर्दा मनबाट आकाङ्क्षा क्रोध, रिस, अहङ्कारको मुक्ति हुन्छ । शुद्ध चेतनाको विकास हुन्छ । मन, बुद्धि, अहङ्कार, चित्त शुद्धीकरण हुन्छ । 

बिहान योग गर्नु उपयुक्त

योग गर्ने उपयुक्त समय बिहान हो । बिहानको समयमा पृथ्वीमा अक्सिजनको मात्रा बढी हुने हुँदा यो समयमा गर्नु उपयुक्त हुन्छ । ठोस खाना खाएको चार घण्टापछि जति बेला पनि योग गर्न सकिने उहाँको भनाई छ । झोलिलो खानेकुरा खाएको एक घण्टापछि योग गर्न उहाँ बताउनुहुन्छ ।  

योग गर्दा के कुरामा ध्यान दिने ?

योग गर्दा  पसिना सोस्न सक्ने खुकुलो सूतीको कपडा लगाउनुपर्छ । योग गर्ने वातावरणले पनि प्रभाव पार्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, “आसन गर्दा कस्तो ठाउँमा गरिएको छ,  त्यहाँको वातावरण कस्तो छ , विचार गर्न आवश्यक हुन्छ । खुल्ला स्वच्छ वातावरणमा योग गर्नु राम्रो हुन्छ ”शारीरिक र मानसिक अवस्था खानपानमा ध्यान दिन उहाँको सुझाव छ । 

कस्तो अवस्थामा योग गर्न हुँदैन 

बिरामी भएमा, शल्यक्रिया गरेको अवस्थामा योग नगर्न उहाँको सुझाव छ । शारीरिक र मानसिक अवस्था विचार गरेर मात्र योग गर्न उहाँको सुझाव छ । उहाँका अनुसार ज्वरो आएको बेला, सङ्क्रमण भएको बेला, उच्च रक्तचाप भएको बेलामा, ढाडको नसा च्यापिएको बेला, मुटु रोग भएकाले, हर्निया भएको ,पेटको क्षयरोग भएमा, महिनावारीको समयमा योग गर्न मिल्दैन ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।