• ३ कात्तिक २०८२, सोमबार

मुस्ताङ भन्सारको राजस्व करिब तीन अर्ब रुपियाँ

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालय । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), कात्तिक ३ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनामा ३ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने भएको छ । 

लिजी–नेचुङ नाका (कोरला) मा तिब्वतको ढोङ्वासेन हुँदैआएका विद्युतीय (इभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक सामग्री धमाधम आउन थालेपछि कात्तिकको दोस्रो सातामै राजस्व तीन अर्ब माथि हुने देखिएको हो ।

जनशक्तिसहित उपकरणको व्यवस्थाप गरिएपछि पूर्णरूपमा सञ्चालन भएको भन्सार कार्यालयमा कात्तिक ३ गतेसम्म २ अर्ब ८६ करोड ४९ लाख १४ हजार ८०२ रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो । 

आइतबारसम्म १४ सय ९८ विद्युतीय (इभी) गाडी, पैठारीतर्फ ५ सय १४ कन्टेनरसहित मालबाहक ढुवानी साधन जाँचपासका साथै निकासीतर्फ ७ वटा ट्रकमा ढुवानी भएको छ । भन्सार कार्यालय प्रमुख खड्का भन्नुहुन्छ, ‘‘भाइटीकाको दिन बाहेक भन्सार खुला रहन्छ, तिब्वतबाट अझै मालबाहक ढुवानी आउनेक्रम जारी छ ।’’ 

चिसो बढ्ने भएकाले कात्तिक महिनापछि ढुवानीका लागि आउने सवारी साधनलाई असहज हुने भएकाले पनि नेपाली व्यवसायीले कात्तिक महिनामै ढुवानी गरिसक्ने भएकाले पनि राजस्वको आकार तीन अर्बभन्दा बढी हुने भन्सार कार्यालयले जनाएको छ । 

समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा चिसोका कारण सामान ढुवानी गर्न जाने सवारी साधनलाई समस्या भइरहेको छ । कोरला नाकाबाट विद्युतीय सवारी साधन बाहेक इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक धेरै भित्रिएको छ । 

कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन बाहेक सबै वस्तुलाई ट्रकबाट कोरला–जोमसोम–बेनी सडक खण्ड हुँदै ढुवानी गर्ने गरिएको छ । चिनियाँ भूभागबाट आएर मुस्ताङको कोरला भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि प्रतितपत्र (एलसी) खोलिएपछि नेपाली व्यवसायीलाई सहज भएको छ । तिहारको दिन बाहेक भन्सारबाट मालबाहक वस्तु आयात तथा निर्यातका लागि बैँक खुला गरिएको छ ।

विसं. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका हालसम्म मुस्ताङका पाँच स्थानीय तहका बासिन्दाले घरायसी र सामान्य व्यापारका लागि सामान आयात गर्ने गरेका थिए । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा जनशक्तिसहितको व्यवस्थापनले निर्यात तथा आयातकर्तालाई सहज भएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो ।