• ३ कात्तिक २०८२, सोमबार

अनुसन्धानमा सहयोगी कुकुरको गरियो पूजा

blog

अपराध अनुसन्धानमा सहयोग गर्ने तालिम प्राप्त कुकुरको विधिवत् पूजा गरिएपछि । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक ३ गते । तिहारको तेस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने तालिम प्राप्त कुकुरहरूको सोमबार विधिवत् पूजा गरिएको छ ।

बागमती प्रदेश प्रहरी गण हेटौँडाका गण प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, बागमती प्रदेश प्रहरी गण र केनाइन शाखामा कार्यरत प्रहरी कर्मचारीले कुकुर पूजा गर्नुभएको हो । 

कुकुरलाई पूजागरी माला लगाई खाने कुराहरू दिइएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखामा विभिन्न विधामा तालिम प्राप्त ७ वटा कुकुरहरू सेवारत रहेका छन् । नेपाल प्रहरीको वेबसाइटमा दिइएको तथ्याङ्कअनुसार हाल नेपाल प्रहरीमा तेह्र वटा विभिन्न कार्यालयबाट १०१ वटा कुकुरले सेवा दिएका छन् ।

जसमध्ये नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगन्ज, काठमाडौँ –४२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय केनाइन शाखा, गौचर, काठमाडौँ –५, लागु औषध नियन्त्रण ब्युरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा, गौचर, काठमाडौँ–५, कोसी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरान, सुनसरीमा–६, क्षेत्रीय विमानस्थल केनाइन शाखा, विराटनगरमा–३ र मधेश प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, लालगढ, धनुषामा–३ वटा कुकुरले सेवा दिइरहेको नेपाल प्रहरीले जनाएको छ । 

त्यस्तै, क्षेत्रीय विमानस्थल केनाइन शाखा, जनकपुरमा–३, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म केनाइन शाखा, वीरगन्जमा–३, बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, हेटौँडा, मकवानपुरमा–७,  गण्डकी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, पोखरा, कास्कीमा ८, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केनाइन शाखा, भैरहवामा ४, कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, कोहलपुर, बाँकेमा ७ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धनगढी, कैलालीमा ५ वटा कुकुरले सेवा दिइरहेको नेपाल प्रहरीको भनाइ छ ।  

नेपाल प्रहरीबाट विसं. २०२६ सालमा ५ जना प्रहरी कर्मचारीहरू मलेसियामा तालिम गर्न गएको र साथमा ल्याएको २ वटा तालिम प्राप्त जर्मन सेफर्ड जातको भाले कुकुर र नेपालमा खरिद गरिएका सोही जातको २ वटा कुकुरसहित जम्मा ४ वटा कुकुरहरूद्वारा सेवाको प्रारम्भ गरिएको थियो । 

विधिवत् रूपमा विसं. २०३२ सालमा प्रहरी नायब निरीक्षकसहित १० जनाको दरबन्दी कायम भई प्रहरी प्रधान कार्यालयमा प्रहरी कुकुर शाखाको रूपमा स्थापना भएको थियो । बदलिँदो परिस्थितसँगै प्राप्त सफलता र आवश्यकतालाई मध्यनजर गर्दै विसं. २०४७ मा तत्कालीन प्रहरी कुकुर शाखालाई केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल र पाँचवटै विकास क्षेत्रहरूमा कुकुर शाखासहित स्तरोन्नति गरिएको थियो । विसं. २०७५ सालमा तत्कालीन केन्द्रीय प्रहरी कुकुर तालिम स्कुललाई केनाइन महाशाखा र २०७८ सालमा नेपाल प्रहरी केनाइन कार्यालयको रूपमा स्तरोन्नति गरिएको थियो ।