• १२ असार २०८१, बुधबार

सैँतिस वर्षसम्म अधुरै सिँचाइ आयोजना

blog

कमल शर्मा 

दैलेख, असार ४ गते । तत्कालीन रावतकोट, वडालम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गीताचौर–रावतकोट सिँचाइ आयोजना अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । विसं २०२२ मा ४३५ हेक्टर जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सुरु गरिएको आयोजना सङ्घीय सरकारले बजेट विनियोजन कम गर्ने, उपभोक्ता समितिले श्रमदान नगर्ने, ठेकेदारले काम नगर्नेलगायतका समस्याका कारण हालसम्म पनि निर्माण हुन नसकेको हो । 

छ करोड ३१ लाख रुपियाँको लागतमा निर्माण थालिएको सिँचाइ आयोजनामा अहिलेसम्म झन्डै पाँच करोड रुपियाँ खर्च भइसकेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखले जनाएको छ । उक्त कार्यालयका प्रमुख टोपेन्द्र मल्लले सङ्घीय सरकारले बजेट विनियोेजन गर्दा कम गर्ने र उपभोक्ताले श्रमदान गर्न समस्या मान्ने गरेका कारण आयोजना निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले यो आर्थिक वर्षमा आएको ८० लाख रुपियाँ बजेटमा चार किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको बताउनुभयो । उहाँले तत्कालीन समयमा गरिएको सर्वेक्षण र त्यसैका आधारमा निर्माण गरिएको प्राविधिक लागत अनुमानले आयोजना निर्माण हुन नसक्ने भन्दै त्यसका लागि पुनः प्राविधिक लागत अनुमान तयार गरी बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । 

उहाँका अनुसार तत्कालीन समयमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेका कारण आयोजनाले गति लिन नसकेको हो । निर्माण कम्पनीले बनाएको सिँचाइ कुलोको संरचना भत्किएर पुरानै अवस्थामा आएको छ । निर्माण सम्बद्ध पक्षले सिँचाइका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोगलगायतका कारण आयोजनाको निर्माण रोकेको थियो । सुरुका वर्ष पानीको स्रोत नपुग्ने भन्दै सिँचाइ कार्यालयले सवा दुई करोडको काम बिचैमा रद्द गरेको थियो । फेरि तत्कालीन सिँचाइ कार्यालयले २०४७ सालमा पुनः टेन्डर आह्वान गरी काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । 

यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ताबिचको मिलेमतोका कारण आधा काम गरी सो कामको मात्र प्रतिवेदन बुझाउने र रकम भुक्तानी लिनेदिने काम भएकाले पनि आयोजना निर्माण सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन् । आयोजनाको प्रारम्भिक चरणका काम नगरी २०४९ देखि २०५६ सालसम्म दुई करोड ९७ लाख खर्च भइसकेको दाबी गरिएको छ ।  

आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीति अनुसार स्थानीयले सेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी उठाएर बैङ्कमा राखे पनि अहिले त्यो रकम कहाँ छ भन्ने यकिन हुन नसकेको तत्कालीन आयोजनाका अध्यक्ष तिलकप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले गीताचौर–रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न गर्न तीन ठाउँमा तीन वटा ठेकेदारले निर्माणको जिम्मा लिए पनि उनीहरूको लापर्बाहीका कारण आयोजना निर्माण हुन नसकेको बताउनुभयो । 

तत्कालीन जिल्ला विकास समितिको समन्वयमा दैलेख जिल्लाका ५५ गाउँ विकास समितिका अध्यक्ष र उपाध्यक्षलाई बोलाएर श्रमदान गरिएको अध्यक्ष रिजालले बताउनुभयो । 

भैरवी गाउँपालिका–१ का आशाराम थापाले आफूहरूको उपभोक्ता समितिले ८० लाख रुपियाँ बराबरको काम गरेपछि चार किलोमिटरसम्म सिँचाइ कुलोमा पानी ल्याउन सफल भएको बताउनुभयो । उहाँले पहिला बनाएको सिँचाइ कुलोले नजिकैको सडक हान्दा भत्किएको र केही भाग पहिरो गएर भत्किएका कारण चार किलोमिटरसम्म मात्र पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो ।