• ४ असार २०८१, मङ्गलबार

फलफूलको जुस, दही, मोही, कागती र बिरे नुन पानी खान सुझाव

‘कोल्ड ड्रिङ्क्स’ र फ्रिजको पानी स्वास्थ्यका लागि घातक

blog

काठमाडौँ, असार १ गते। गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान चिकित्सकको सुझाव छ। जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मीको समस्याबाट छुटकार पाउन शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान सुझाव दिनुभएको छ। 

गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने स्वास्थ्यकर ताजा घरमा बनाएको दालभात, तरकारी जस्ता खानेकुरा खान उहाँको सुझाव छ।  

सलादमा मुला, केरा, फलफूलको सर्बत, आँपको जुस, मौसम अनुसारका फलफूल, टुसा उमारेको चना, मटरमा कागती र बिरे नुन हालेर पानी खाँदा खानेकुरा सहजैसँग पचाउन सकिने डा.उप्रेती बताउनुहुन्छ। 

उहाँले गर्मीमा कोल्ड ड्रिङ्क्स र फ्रिजको चिसो पानी सकेसम्म नपिउन सुझाव दिनुभएको छ। उहाँका अनुसार कोल्ड ड्रिङ्क्समा अत्यधिक चिनी मिसाइएको हुँदा शरीरका विभिन्न अङ्गमा नकारात्मक असर गर्छ। कोल्ड ड्रिङ्क्स सट्टा घरमा पाइने दही र मोही पिउन उहाँको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘दही र मोही अमृत जस्तै पेयपदार्थ हुन्। आधुनिक विज्ञानले पनि दहीमा पाइने लाभदाही कीटाणुले पेटको समस्यालाई समाधान गर्ने पुष्टि गरेको छ।  दही र मोहीमा बिरे नुन, जिरा हालेर पिउँदा शरीरलाई थप ऊर्जा प्रदान गर्नुका साथै पानीको कमी हुन दिँदैन।’ 

गर्मीमा पुदिना पानी मिसाएर पिउँदा पेट स्वास्थ्यलाई लाभदाही हुनुकासाथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। 

बेलको सर्बतले गर्मीमा पानीको कमी परिपूर्ति गर्नुका साथै यसमा भएको तत्त्वले शरीरलाई शक्ति प्रदान गर्ने उहाँको भनाइ छ। साथै चनाको सातु पानीमा हालेर गुडसँग खाँदा शरीरलाई फाइदा पुग्ने उहाँले बताउनुहुन्छ। चनाको सातु पानीमा हालेर कागती बिरे नुन मिसाएर खाँदा ‘लु’ लाग्ने सम्भावना कम हुन्छ।  

उहाँका अनुसार गर्मीमा दिनमा दुईदेखि तीन लिटर पानीको आवश्यकता पर्छ।  फ्रिजको पानीभन्दा माटोको भाँडोमा राखेको पानी पिउनु उपयुक्त हुने उहाँको भनाइ छ। 

यो मौसममा शरीरबाट अत्यधिक पसिना बाहिर जाँदा शरीरमा सोडियमको कमी हुने गर्छ।  यसको परिपूर्ति बिरे नुनले गर्ने हुँदा पेयपदार्थमा मिसाएर प्रयोग गर्न उहाँको सुझाव छ।

गर्मीमा आइक्रिमले स्वास्थ्यलाई  फाइदा नगर्ने हुँदा यसको प्रयोग नगर्न उहाँको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘बालबालिकालाई बट्टाको जुस, आइसक्रिम, चकलेट, जस्ता खानाले मुटु, कलेजो, आन्दा बिगार्नुका साथै मतिष्कमा असर गर्छ। सानैदेखि गुलियो पेय पदार्थको पिउने बानीले बालबालिकामा विभिन्न प्रकारका नसर्ने रोगका सिकार हुनुका साथै हड्डी कमजोर बनाउने गर्छ।’ 

यस्ता खानेकुरा खुवाउनुभन्दा बालबालिकालाई बेलाबलामा चिसो सुप, दाल तरकारीको झोल, कागती पानी र अमला जुस बनाएर खुवाउन उहाँको सुझाव छ।  

गर्मी मौसममा कस्ता खानेकुरा र पेयपदार्थ पिउँदा लाभदाही हुन्छ भन्ने विषयमा केन्द्रित भएर जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीसँग गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।