• ४ असार २०८१, मङ्गलबार

मधेश प्रदेशमा पहिलो पटक ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार

blog

विजयकुमार साह
ढल्केबर, असार १ गते ।
धनुषाको ढल्केवरमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । ढल्केबरमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले सो प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो ।

अस्पतालका महासचिव हिरामणि शर्माले मधेश प्रदेशमा पहिलो पटक यस अस्पतालले ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको दाबी गर्नुभयो । यो प्रविधिको प्रयोगले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने र आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

यो प्रविधिबाट यहाँका आँखाका बिरामीलाई बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालका विशेषज्ञले ‘अनलाइन’ मार्फत प्रत्यक्ष सेवा दिन सकिने उहाँको भनाइ छ । महासचिव शर्माले भन्नुभयो, “प्रविधिको माध्यमबाट यहाँका बिरामीलाई हामी आँखाको रेटिनामा भएका समस्याहरु पनि विशेषज्ञसँग परामर्श गराइ उपचार गराउने छौँ, आँखाको नानी फुलाएर नानीको पछाडिको समस्या पनि प्रत्यक्ष देख्न सकिन्छ ।”

उहाँका अनुसार मधेश प्रदेशका नागरिक अब आँखाको विशेषज्ञ सेवा लिनकै लागि हजारौँ रुपियाँ खर्च गरेर काठमाडौँ जानुपर्दैन । यो प्रविधिको माध्यमबाट ढल्केबरमै आँखारोग विशेषज्ञबाट उपचार सेवा दिन सकिन्छ ।

यस प्रविधिले ग्रामीण भेगको दुरदराजमा रहेका बिरामीलाई काठमाडौँ पुगेर सेवा लिन पर्ने झण्झटबाट मुक्त हुने महासचिव शर्माले बताउनुभयो ।