• १२ साउन २०८१, शनिबार

नाबालकसहित एकै परिवारका तीन जना मृत फेला

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ ३२ गते ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् ।
शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । उहाँले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी २५ वर्षीया श्रीमती अन्जली बेस्राले आफ्ना नाबालक छोराहरुमा विष खुवाएर हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक रुपमा देखिएको प्रहरीले जनाएको छ । दुई नाबालक सुतेको ठाँउमा नै मृत भेटिएका हुन् । उनीहरुको मुखबाट फिज आएको अवस्था थियो ।

अञ्जलीले नौ वर्षीय विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रालाई विषय खुवाएर हत्या गरेको हुनसक्ने स्थानीयले जनाएका छन् । प्रवक्ता चन्दका अनुसार घटनास्थलको प्रकृति  हेर्दा बिहीबार बेलुका नै घटना भएको हुनसक्ने देखिन्छ ।

प्रारम्भिक चरणमा घटनाको अवस्था हेर्दा हत्यापछि आत्महत्या जस्तै नै देखिएको उहाँले जनाउनुभयो । घटना र घटनास्थलको अवस्था शङ्कास्पद नदेखिएको उहाँले जनाउनुभयो । मृतकहरुको शरीरमा चोटपटक तथा बाहिरी घाउ देखिएको छैन भने तीनैजनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी उहाँले दिनुभयो ।