• १२ साउन २०८१, शनिबार

गोरखापत्र राज्यको सम्पत्ति हो : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी

blog

गोरखापत्रको फोटो प्रदर्शनीको अवलोकन गर्नुहुँदै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी। साथमा संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लाललबहादुर ऐरीलगायत । तस्बिरः कविन अधिकारी

काठमाडौँ, जेठ २९ गते। मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले गोरखापत्र राज्यको बहुमूल्य सम्पत्ति भएको बताउनुभएको छ। गोरखापत्र संस्थानको प्राङ्गणमा जारी ऐतिहासिक तस्बिर प्रदर्शनीको अवलोकन पश्चात् संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो, “गोरखापत्र राज्यको बहुमूल्य सम्पत्ति हो भन्ने लाग्छ।यसलाई सुरक्षित गर्नुपर्छ।तपाईंहरुले थालेको अभियान सफलतामा जाओस् भन्ने म कामना गर्न चाहन्छु।यो संस्थानले पत्रकारिताको माध्यमबाट, विभिन्न प्रकाशनको माध्यमबाट बालबालिकाको मुनादेखि, मधुपर्क, साहित्यदेखि, अङ्ग्रेजी ‘दि राइजिङ नेपाल’ २०२२ सालदेखि प्रकाशनमा छ।”

उहाँले गोरखापत्र पत्रकारिताको इतिहासमा बुढो र पहिलो प्रकाशनको रुपमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो १९५८ देखि आफैंमा बुढो र पहिलो पत्रकारिताको इतिहास हो।म चाहिँ २०१९ सालमा पहिलो चोटी पाल्पाबाट काठमाडौँ आएको थिएँ, त्यतिबेला एउटा मान्छेले काँधमा राखेर बाँड्दै हिँडेको अझै स्मरणमा छ।”


उहाँले त्यो बेलादेखि अहिलेको प्रतिस्पर्धात्मक स्थितिमा पनि गोरखापत्रको कलात्मकता, आकर्षण, रंगीनता, विषयवस्तुको विविधता, विभिन्न भाषाको प्रकाशनका साथै सबै सूचनामुलक विषय आधिकारिक र विश्वसनीय हुनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “जति जनताले विश्वास ग¥यो, जति दायित्त्व बढ्यो उति बोझिलो हुन्छ।त्यसकारण यो संस्थामा रहेका तपाईंहरुको बोझ अरुको भन्दा बढी छ।त्यो बोझिलो कामको सम्मान जनता र समाजले गरेको पनि छ।अहिले विविधता, विषयवस्तु र प्रस्तुतिकरण फरक हुँदै गएको छ।घोचपेच होइन, समालोचनात्मक रुपमा देखेका कुराहरु, त्यसका सकारात्मक, नकरात्मक पक्षलाई समालोचना गर्नुपर्छ भन्ने मलाई लाग्छ।जसले गर्दा बाटो देखाइदिने मागदर्शन हुनेछ।मेरा पुस्ताका मान्छेलाई त गोरखापत्र भने पनि त्यो हेर्नैपर्ने तलतल लाग्छ।यही चीज बरकरार होस् भन्ने शुभकामना दिन चाहन्छु।”

ऐतिहासिक तस्बिर अवलोकनका विषयमा उहाँले समाज, राष्ट्र  राष्ट्रियता, देशको परिवेश, परिस्थिती सबै कुराको इतिहास प्रदर्शनीमा अवलोकन गर्ने अवसर मिलेको भनाइ राख्नुभयो।



उहाँले भन्नुभयो, “गोरखापत्र संस्थानमा आएर एक सय २४ वर्षदेखि यसले यो समाज, राष्ट्र र राष्ट्रियता, देशको परिवेश, परिस्थिती सबै कुराको उल्लेख लेखबद्धरुपमा, फोटोको रुपमा अवलोकन गर्ने अवसर पायौं।यो आफैंमा नेपाल कस्तो अवस्थामा रहेछ र आज कस्तो अवस्थामा आइपुगेको छ ? यसको संक्षिप्त झलक यसले दिन्छ।”

उहाँले तस्बिरमार्फत देशको पञ्चायत कालदेखिको विभिन्न राजनीतिक घटनाक्रममा भएका आन्दोलनका विषय समेटिएको बताउनुभयो।



उहाँले भन्नुभयो, “२०३२ सालको पञ्चायत कालको संविधान संशोधनदेखि २०३६ सालको विद्यार्थी आन्दोलनपछिको संविधान संशोधन अवस्था, जनमत सङ्ग्रह त्यसपछि २०४६/४७ को आन्दोलन, नयाँ संविधान, अन्तरिम सरकार लगायत सबै घटना समेटेको छ।आर्थिक, सामाजिक, गृहस्थी जनजीवनका कुरा यसले समाज कसरी स्वाबलम्बी बनेर अगाडि बढ्दैछ भनेर प्रस्तुत गर्दछ।ऐतिहासिक फोटो पत्रकारिताको सुरुवात यसले गर्यो‍ भन्ने कुराको अर्थ पनि राख्दछ।”

उहाँले तस्बिर आफैंमा तथ्य भएकाले यसको धेरै व्याख्या गर्नु नपर्ने र विज्ञ नभएको व्यक्तिले समेत सहजै अनुभूत गर्न सक्ने अर्थमा पनि ऐतिहासिक फोटोको संरक्षण एवम् प्रदर्शनीको कार्य महत्त्वपूर्ण भएको भनाइ राख्नुभयो। उक्त अवसरमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई र दि राइजिङ नेपाल दैनिकका निमित्त प्रधान सम्पादक भिमसेन थपलियासमेत उपस्थित हुनुहुन्थ्यो । 


अवलोकनका क्रममा कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले पुराना एवम् ऐतिहासिक तस्बिरका बारेमा जानकारी दिनुभयो। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले पूर्व अध्यक्ष रेग्मीलाई मायाको चिनो प्रदान गर्नुभयो।