गोरखापत्र समाचारदाता 
काठमाडौँ, वैशाख १४ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापनसम्बन्धी चुनौती एकपछि अर्को गर्दै थपिन थालेका छन् । निर्वाचन सुरक्षामा राजनीतिक दल र कार्यकर्ता मुख्य चुनौतीका रूपमा देखिएको सुरक्षा अधिकारी बताउँछन् । यही ३० गते हुने निर्वाचनका लागि सोमबार र मङ्गलबार उम्मेदवारी मनोनयन पत्र दर्ता सम्पन्न भएको छ ।
नेपाल प्रहरीका अनुसार उम्मेदवारी मनोनयन पत्र दर्ताकै क्रममा एक दर्जन स्थानीय तहहरूमा दलकै कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्नुहुन्छ– निर्वाचनको सुरुवाती चरणमा नै कुटाकुट हुनु राम्रो होइन ।
निर्वाचनमा होमिएका पक्ष–प्रतिपक्षभन्दा दलभित्रकै गुटबीच कुटपिटका घटना भएको उहाँले स्मरण गराउनुभयो । मुलुकमा गणतन्त्र आइसकेपछि एक अर्को पार्टी र कार्यकर्ताबीचको झगडा भने घट्दै गएको पाइन्छ ।
यसमा राजनीतिक चेतना र शिक्षासँगै कठोरता हट्दै गएको देखिएको भन्दै उहाँले थप्नुभयो– “अहिलेसम्म कति जना घाइते भइसक्थे होलान् । तर त्यस्तो अप्रिय घटना भएको छैन । यसमा सुरक्षाकर्मीले अपनाएको उच्च सुरक्षा सतर्कता पनि महìवपूर्ण पक्ष हो ।”
उम्मेदवारी मनोनयन पत्र दर्तादेखि चुनाव प्रचारप्रसार तथा सभासमारोहका क्रममा हुनसक्ने सम्भावित झडप, कुटाकुट, मतदानको दिन मतदातालाई तर्साउने, दबाब दिने, फर्जी मत हाल्ने र बुथ कब्जा गर्ने जस्ता चुनौती चुनावमा देखिन्छन् ।
“यस्ता विषयका सम्बन्धमा शान्तिसुरक्षा चुनौती विश्लेषण मतदान स्थलमै तत्कालै गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ,” उहाँले सुझाव दिँदै भन्नुभयो– “मतदानअघि गरेको सुरक्षा चुनौती विश्लेषणले कहिलेकाहीँ धोका दिनसक्छ ।”
त्यस्तै मतगणनाका क्रममा मतपत्र च्यात्ने, चपाउने, मसी छर्किने, जबर्जस्ती बदर गराउने, मतपेटिका तोडफोड गर्ने, निर्वाचान टोली र सुरक्षाकर्मीमाथि धावा बोल्ने, वैध तथा अवैध हतियार देखाई मतदाता तर्साउने जस्ता चुनौती दोहोरिन दिन नहुने सुझाव उहाँको छ ।
“निर्वाचनलाई शान्त, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलको नै मुख्य जिम्मेवारी हुन्छ,” सुरक्षा विश्लेषक नारायणबाबु रेग्मी भन्नुहुन्छ– “पार्टीगत तथा व्यक्तिगत स्वार्थभन्दा स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ ।”
प्रजातन्त्र र लोकतन्त्रको सुनौलो पक्ष यही हो, स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आवश्यक छ । आस्था, विचार र पार्टी फरक भए पनि नेता कार्यकर्ताहरूबीच दुस्मनी साँध्ने काम सुरक्षा चुनौतीका रूपमा देखिएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोग र सुरक्षा निकायहरूको भूमिका प्रभावकारी बनाउन दलहरू नै जिम्मेवार र प्रतिबद्ध हुन जरुरी छ । उहाँका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयमा प्रतिबद्धता, राजनीतिक इमानदारी र आचरण सुधार जरुरी छ ।
निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल आसन्न स्थानीय तह निर्वाचन स्वच्छ, शान्त, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय, राजनीतिक पार्टी, नागरिक समाज, पर्यवेक्षकलगायत सबैसँग सहयोग गर्न आह्वान गरिएको बताउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                