• ७ वैशाख २०८३, सोमबार

कानुनबमोजिम मात्र काममा लगाउन निर्देशन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थालगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई प्रचलित कानुनविपरीत काम नलगाउन निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलाई श्रम सम्झौता नगरी र तोकिएको समयभन्दा बढी काम लगाएको भन्ने उजुरी आएकाले कानुनविपरीत कार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । 

श्रम ऐन, २०७४ को व्यवस्थाबमोजिम रोजगारदाताले सेवा, सर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र कर्मचारी वा श्रमिकबिच श्रम सम्झौता नगरी कसैलाई काममा लगाउनु भनेको कानुनविपरीतको कार्य हुने कानुनी व्यवस्था छ । मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेले प्रचलित कानुन अनुसार श्रमिक तथा प्रशिक्षार्थीका लागि काम गर्ने समय स्पष्ट तोकिएकाले त्योभन्दा बढी काम लगाउनु कानुनविपरीत हुने भन्दै त्यस प्रकारको गतिविधि नगर्न आग्रह गर्नुभयो । 

उहाँका अनुसार श्रम ऐनले दैनिक आठ घण्टा र साप्ताहिक रूपमा ४८ घण्टाभन्दा बढी समय काममा लगाउनुलाई कानुनविपरीत भनेको र योभन्दा बढी समय कसैले काम लगाएमा थप सेवा दिनुपर्ने कानुनमा उल्लेख छ । बढी समय काममा लगाउनु परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी मात्र लगाउन सकिने र त्यो पनि कर्मचारी वा श्रमिकको इच्छाविपरीत थप समय (ओभरटाइम) काम गर्न बाध्य नपार्न रोजगारदाता प्रतिष्ठानलाई सचेत गराएको बताउनुभयो । 

सहसचिव घिमिरले अस्पताल, स्वास्थ्य संस्था र अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिका साथै प्रशिक्षार्थीबाट समेत श्रम सम्झौता नगरिएको र बढी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासोका आधारमा मन्त्रालयले स्वास्थ्य प्रतिष्ठानलाई पहिलो पटक सचेत गराइएको जानकारी दिनुभयो । 

उहाँले आगामी दिनमा समेत प्रतिष्ठानमा कार्यरत कर्मचारी वा श्रमिकलाई प्रचलित कानुनविपरीत तोकिएको समयभन्दा बढी काम लगाएमा कानुनविपरीतको कार्य हुने र श्रम ऐनमा भएको व्यवस्था अनुसार हदैसम्मको कारबाही गरिने पनि चेतावनी दिनुभयो । 

मन्त्रालयले यो निर्देशन विशेष गरी प्रशिक्षार्थीलाई दैनिक आठ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउने संस्थाको हकमा पनि कडाइसाथ लागु हुने स्पष्ट पारेको छ ।