हामी उत्सवधर्मी छौँ, उत्सवमा रमाउँछौँ, उत्सवमै धर्मका सूक्ष्म तत्व पहिल्याउँछौँ पनि । सम्भवतः हाम्रा पूर्वजले चाडपर्व र उत्सवका माध्यमबाट धर्मको बोध भइरहोस् भनेर नै हाम्रासामु पात्रोभरि अनेकौँ यस्ता तिथि र दिवसका शृङ्खला दिएका हुन्, जुन वास्तवमै प्रेरक छन् । यी प्रत्येक वर्ष आउँछन् र हामीलाई आत्मजागरण र समाजहितका निम्ति झकझक्याएर जान्छन् । यो सुन्दर क्रमले हाम्रासामु स्नान, दान, आत्मचिन्तन र परोपकारको सँगालोका रूपमा अक्षय तृतीया तिथिलाई उभ्याएको छ ।
हाम्रा ऋषि महर्षिले मानव जीवनमा सकारात्मक ऊर्जाको सञ्चार गर्न केही विशेष क्षणलाई ‘स्वयंसिद्ध मुहूर्त’ का रूपमा पहिचान गरेका छन् । तीमध्ये वैशाख शुक्ल तृतीया यस्तै एउटा तिथि हो । यस तिथिलाई शास्त्र र लोकले ‘अक्षय तृतीया’ का रूपमा आत्मसात् गरेको छ । यसले मानिसलाई क्षयशील नश्वरताबाट अक्षय अमरतातर्फ लाग्न प्रेरित गर्छ ।
‘अक्षय’ को मर्म
संस्कृत शब्द ‘अक्षय’ को अर्थ हो– त्यो तत्व जसको कहिल्यै विनाश हुँदैन । यसविपरीत ‘क्षय’ को अर्थ नाश हुनु हो । भौतिक संसारमा हामीले देख्ने सबै वस्तु धन, शरीर, पद र पदार्थ सबै क्षयधर्मी छन् । अक्षय परमात्मा हुनुहुन्छ । यो तिथिले हामीलाई त्यही परमात्म तत्वको स्मरण गराउँछ, जुन अविनाशी छ ।
हामी मानव अक्षयकै अभिलाषी हौँ । हामी चाहन्छौँ, हाम्रो शक्ति, सौन्दर्य र सामथ्र्यको कहिल्यै क्षय नहोस् । हामी अक्षय धनकै कामना गर्दछौँ । यस दृष्टिले अक्षय तृतीयालाई उपभोक्तामुखी बजारले सुनचाँदी जस्ता धातु खरिद गर्ने तिथिमा सीमित गर्ने धुन लिएको छ तर अक्षय हुनुको आध्यात्मिक अर्थ त बाह्य सम्पत्ति थुपार्नु होइन ताकि आफूभित्रको सत्य, करुणा र ईश्वरीय प्रेमलाई जागृत गर्नु हो । भगवान् श्रीकृष्णले गीतामा आत्मा अक्षय छ भन्नुभए जस्तै । त्यसैले यो दिन आत्म शुद्धीकरण र परमात्मासँगको एकाकार हुने विशेष अवसर हो ।
युग र अवतारको सङ्गम
अक्षय तृतीया इतिहास र पुराणको एक जीवन्त कडी पनि हो । शस्त्र र शास्त्रका ज्ञाता, भगवान् विष्णुका आवेश अवतार परशुरामजीको जन्म यसै तिथिमा भएको तथ्य पुराणले प्रकाशित गरेका छन् । उहाँ ‘चिरञ्जीवी’ हुनुहुन्छ भन्ने मान्यताले पनि उहाँको जन्मतिथिको ‘अक्षय’ गुणलाई झल्काउँछ । यसै तिथिमा सद्धर्मको रक्षाका निम्ति भगवान् विष्णुका हयग्रीव र नरनारायण आदि अवतार भएका कथा पनि पुराणमा वर्णित छन् । सत्ययुगको समाप्ति र त्रेतायुगको प्रारम्भ यसै दिनबाट भएको मानिन्छ । यसले परिवर्तनको शाश्वत नियमसँगै नवीन सुरुवातको ऊर्जालाई समेत प्रतिनिधित्व गर्छ । कतिपय मान्यता अनुसार यसै दिन शिव र पार्वतीको विवाह भएको थियो । यो शिव अर्थात् कल्याणकारी तत्वसँग शक्ति अर्थात् पार्वतीको मिलनको प्रतीक हो । शक्ति सधैँ कल्याणकारितामा समर्पित हुनु पर्छ भन्ने शुभभाव यहाँ झल्किन्छ ।
तीर्थ र स्नान
भगवान् बद्रीविशालको मन्दिर यसै दिन श्रद्धालुका लागि खोलिन्छ । यसलाई ‘प्रेमको मार्ग’ खुल्नुको प्रतीक मानिन्छ । श्रीधाम वृन्दावनमा श्रीबाँके विहारीजीको चरणको दर्शन वर्षमा एक पटक यसै दिन मात्र हुन्छ । यसले भक्तको हृदयमा समर्पण र भक्तिलाई थप प्रगाढ बनाउँछ ।
स्नान नित्यकृत्य हो तर पर्व र उत्सवमा नुहाउन नदी तीर्थ पुग्नु भन्ने निर्देश हामी पाउँछौँ । तीर्थस्नानको लाभ लिन बागमती, नारायणी, गण्डकी, माई र कौशिकीको काखमा पुग्छौँ । यी नदीमा गरिने स्नान शरीरको शुद्धि मात्र होइन, प्रकृतिको पाउमा गरिने श्रद्धाको अर्पण पनि हो । नदी पवित्र छन् । यही मान्यता शिरोधार्य गरी हामी त्यहाँ जान्छौँ तर आज नदीको पवित्रतालाई ‘अक्षय’ राखिराख्नु हाम्रो धर्म हो भन्ने बोधका निम्ति पनि हामी नदीतीर्थ पुग्न आवश्यक छ । जब नदी स्वच्छ बग्छन् तब मात्र हामीले सभ्य भएको अनुभूति गर्न सक्छौँ । अक्षय तृतीया जस्ता महान् पर्वले हामीलाई पानी र पर्यावरणसँगको यो अटुट नाता सम्झाउँछन् । प्रकृतिको काखमा हाम्रा तीर्थ छन् । त्यहाँ पुगेर आफूलाई शुद्ध बनाउनु र प्रकृतिलाई पनि शुद्ध राख्ने सङ्कल्प गर्नु नै वास्तविक तीर्थाटन हो । स्वच्छ नदी नै जीवन्त सभ्यताको पहिलो सर्त हो ।
आत्मनिरीक्षण
यस अक्षय तिथिको सबैभन्दा महत्वपूर्ण सन्देश आत्मविश्लेषण हो । सन्त कवि श्रीतुलसीदासजीले हनुमान चालिसामा उल्लेख गर्नुभएको ‘निज मनु मुकुरु सुधारि’ अर्थात् आफ्नो मनरूपी ऐनालाई सफा गर्नु भन्ने सन्देशलाई पुनः स्मरण गर्ने यो पावन दिवस हो । हामी प्रायः बाह्य संसारको चमकधमकमा अल्झिएर आफ्नो भित्रको ‘आसुरी वृत्ति’– काम,क्रोध, लोभ, मोह आदिलाई मलजल गरी पालेर बसिरहेका हुन्छौँ । यी सबै क्षयधर्मी हुन्, जसले अन्त्यमा दुःख मात्र दिन्छन् । संसारले यी आसुरी वृत्तिको रापताप भोगिरहेको छ । दुःख, दैन्य र हिंसा अहिले पनि चरममा छ । यस्तो दुर्दशाबाट मुक्त हुन, मानवको मुक्तिको बाटो देखाउन हामीलाई हाम्रा पर्वहरूले घरी घरी घचघच्याइरहेका हुन्छन् । अक्षय तृतीया यस्तै एउटा तिथि हो, जसले हामीलाई त्याग, परोपकार, मैत्री र करुणा जस्ता दैवी सम्पदा अँगाल्न सिकाउँछ ।
सामाजिक र आध्यात्मिक महत्व
लोकव्यवहारमा अक्षय तृतीयालाई ‘स्वयंसिद्ध मुहूर्त’ मानिन्छ । यस दिन विवाह, गृहप्रवेश, नयाँ व्यापारको सुरुवात वा कुनै पनि माङ्गलिक कार्यका लागि पञ्चाङ्ग हेरिरहनु पर्दैन भन्ने लोकमान्यता छ । यो तिथि आफैँमा यति शुभ छ कि यसले कार्यमा सफलता र स्थायित्व प्रदान गर्छ । सामाजिक रूपमा यस दिन गरिने दान, विशेष गरी गर्मीयाम अनुरूप जल, अन्न, सातु र पङ्खा आदिले समाजमा सेवा र परोपकारको भावलाई प्रवर्धन गर्छ । त्यस्तै चराचर जगत्का जीवजन्तुलाई पानी र चाराको व्यवस्था गर्नु र सकारात्मक पर्यावरण प्रवर्धनका लागि विविध वृक्षादि वनस्पतिको रोपण, संरक्षण गर्नु पनि अक्षय फलदायक भएको हाम्रा परम्परा र शास्त्रले निर्देश गरेका छन् । यी स्थूल कृत्यले हामीलाई यिनको अन्तर्यमा निहित सूक्ष्म बोधतिर चिहाउन निर्देश दिइरहेका छन् । हामीले यस दिन सत्मार्गमा आफ्ना पाइला चाल्यौँ; कुनै शुभसङ्कल्प ग¥यौँ भने त्यसको फल पनि ‘अक्षय’ अर्थात् कहिल्यै नसकिने हुन्छ । यसरी नै समाजहितको सुन्दर भावले निरन्तरतासमेत पाउँछ ।
भगवान् श्रीकृष्णले गीता (२।४०) मा यसको सुन्दर सङ्केत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “निष्काम कर्मयोग अर्थात् ईश्वरमा समर्पित मनले गरिने स्वार्थरहित कर्मको बाटोमा सानोभन्दा सानो सुरुवात वा प्रयास पनि अक्षय हुन्छ; कहिल्यै खेर जाँदैन । भौतिक काम अधुरो रहँदा फल पाइँदैन तर आध्यात्मिक कर्मको फल सुरक्षित रहन्छ । यस मार्गमा कुनै गल्ती भएमा वा काम पूरा नभएमा पनि त्यसको नकारात्मक परिणाम (पाप वा हानि) भोग्नु पर्दैन । कर्मयोगरूपी धर्मको थोरै अभ्यासले पनि मानिसलाई जन्ममृत्युको चक्र जस्तो ‘महत भयात्’ अर्थात् ठुलो डर वा सङ्कटबाट बचाउँछ ।”
सत्य नै अक्षय हो । कुनै दिन शरीर नष्ट हुन्छ तर हाम्रा कर्म र विचार अमर रहन्छन् । यो पावन पर्वमा केवल भौतिक सुनचाँदी जोड्ने होइन बरु पुण्यको अक्षय भण्डार भर्ने सङ्कल्प गर्नु सार्थक हुन्छ । जब हामीभित्रको ‘स्वार्थ’ क्षय हुन्छ तब मात्र ‘परमार्थ’ को अक्षय ज्योति बल्न थाल्छ । उपनिषद्बाट प्रेरित ‘सत्यमेव जयते’ को मार्गमा हिँड्नु नै वास्तवमा अक्षय तृतीयाको उत्सव मनाउनु हो ।