जीवछ यादव
लहान, वैशाख ७ गते । वैशाख ५ गते शनिबार आएको हावाहुरीले लहान नगरपालिका–२१, कलाबञ्जरका मुसहर समुदायका २१ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीले फुसका घरमाथि राखिएका जस्तापाता उडाउँदा उनीहरू बेघर बनेका हुन् ।
पीडित बस्तीमै पुगेर लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले तत्काल ओत लाग्न त्रिपाल तथा खाद्यान्न राहत वितरण गर्नुभएको छ ।
आइतबार मुसहर बस्तीमा पुगेर प्रति परिवार एक थान त्रिपाल, एक बोरा चामल, एक प्याकेट नुन लगायतका राहत सामग्री वितरण गरिएको थियो । लहान नगरपालिका–२१ का वडाध्यक्ष राजकुमार यादवको अगुवाइमा राहत वितरण गरिएको हो ।
सो अवसरमा नगरप्रमुख चौधरीले लहान नगरपालिकाअन्तर्गत वडा नं. १९, २१, २३ र २४ का दलित बस्तीमा क्षति भएको जानकारी दिनुभयो । उहाँले पीडित परिवारका लागि घर निर्माणका लागि आवश्यक जस्तापाता तथा आर्थिक सहयोग उपलब्ध गराइने र वर्षायाममा थप समस्या नपर्ने व्यवस्था गरिने बताउनुभयो ।
हावाहुरीबाट प्रभावित कलाबञ्जरस्थित मुसहर बस्तीमै पुगेर राहत वितरण गर्नुका साथै घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पीडित परिवारले नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष राजकुमार यादवप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
पीडितमध्ये सुरजा सदायले भन्नुभयो, “हावाहुरीजस्ता विपद्का बेला वडा कार्यालय र नगरपालिकाले अभिभावकत्व प्रदान गरिरहेको छ, हामी खुसी छौँ ।”
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार शनिबार साँझ आएको हावाहुरीका कारण सखुवा नन्कारकट्टी गाउँपालिका–२, मक्रमपुरका ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको छ । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती यादव घरमै बसिरहेको अवस्थामा हावाहुरीले जस्तापाता उडाउँदा घरको इँटाको पर्खाल भत्किएर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
जिल्लाका १७ वटै पालिकामा हावाहुरीबाट भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।