गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ७ गते । समाज कल्याण परिषद्को काठमाडौँस्थित भृकुटीपण्डपको भवन, सटर र हल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नबुझाएकाहरू सम्पर्कमा आउन थालेका छन् । परिषद्ले चैत ३० गते २० वटा सङ्घ संस्था र व्यक्तिका सटरलाई सात दिनभित्र बक्यौता बुझाउन भन्दै ताला लगाएको थियो ।
समाज कल्याण परिषद् भृकुटीमण्डपका प्रमुख खगनाथ रेग्मीले २० वटाबाटै चैत मसान्तसम्म कुल सात करोड ७९ लाख ८१ हजार ३४ रुपियाँ उठाउने बक्यौता भएपछि ताला लगाएर दबाब दिएइएको जानकारी दिनुभयो । ताला लगाइएपछि भने प्रायः सबै सम्पर्कमा आएका छन् ।
“हामीले ताला लगाएकामध्ये एक/ जना मात्रै सम्पर्कमा आउनुभएको छैन । प्रायः सबै आएर बक्यौता तिर्छौं भन्नुभएको छ । बक्यौता धेरै भयो मिलाउनु प¥यो भन्नेहरू पनि छन् । कानुनभन्दा बाहिर गएर छुट दिने भन्ने कुरा भएन,” उहाँले भन्नुभयो, “कतिपयले बैङ्कमा पैसा बुझाएको भनेर लेखामा भौचर बुझाएका छन् । हालसम्म कुन बैङ्कबाट कति जनाले कति पैसा बुझाए भन्ने विवरण आउँछ ।” सात दिनभित्र बक्यौता नबुझाउनेको हकमा के गर्ने भन्ने विषयमा अर्को निर्णयमा पुगिने उहाँले बताउनुभयो ।
“व्यावसायिक प्रयोजनले प्रयोग गरेकाले पैसा तिर्न समस्या छैन । सबैले तिर्ने सङ्केत देखाएका छन् । रिपोर्टर्स क्लब नेपालले नौ लाख बुझाएको भौचर आएको छ । व्यवसायीले एक एक गरी बुझाइरहेका छन्, उहाँले भन्नुभयो, “सार्वजनिक पुस्तकालय र अपाङ्गताको विषयमा काम गर्ने सामाजिक संस्थाको सवालमा समस्या देखिएको छ । यसमा केही भएको छैन ।”
परिषद्ले बक्यौता बुझाउन दुई पटक पत्रिकामा सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । त्यसपछि तत्काल तालाबन्दी गरेर बक्यौता उठाउने प्रक्रियामा गएको हो ।