इमान सिं राना
रामपुर (पाल्पा), जेठ २८ गते । जिल्लाको रामपुर नगरपालिका–६, बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । नागरिकलाई आफ्नो अनुकूलको शारीरिक अभ्यासमा सहजताका लागि नगर मै पहिलो पटक खुल्ला व्यायामशाला निर्माण गरिएको हो ।
निर्माणका लागि ६ नं.वडा कार्यालय बाट चालु आर्थिक वर्षमा तीन लाख विनियोजन गरेको थियो । रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले स्वास्थ्य महत्त्वपूर्ण विषय भएकाले नागरिकलाई व्यायामको महत्त्व बारे जानकारी दिन र शारीरिक व्याममा प्रेरित गर्नका लागि खुल्ला व्यायामशाला निर्माण गरिएको बताउनुभयो । व्यायामशालाको शुभारम्भ गर्दै रामपुर नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ्य नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायामशालाको अवधारण अगाडि बढाएको बताउनुभयो ।
प्रत्येक वडाको उपयुक्त स्थानमा खुल्ला व्यायामशाला निर्माणका लागि वडाहरूलाई आग्रह गरिएको जानकारी दिँदै आगामी वर्ष थप व्यायामशाला निर्माणमा जोड दिने बताउनुभयो। बुद्ध पार्कमा तीन लाख विनियोजित बजेट मार्फत हात, खुट्टा, कम्मर, घाटी, ढाड, पेट लगायत शरीरका विभिन्न अङ्गहरूको व्यायामका लागि पाँच थरी उपकरण जडान गरिएको खुल्ला व्यायामशाला उपभोक्ता समितिका अध्यक्ष गोविन्द बहादुर थापाले जानकारी दिनुभयो ।
खुल्ला व्यायामशालामा एकै पटक १० जनाले जनाले व्यायाम गर्न सकिने कोषाध्यक्ष सुस्मा आलेले बताउनुभयो । उपकरण जडान गरे सँगै व्यायामका लागि बालक, युवादेखि ज्येष्ठ नागरिक व्यायामका लागि पुग्ने गरेका छन् ।