• १३ असार २०८२, शुक्रबार

तेह्रौं कमल्हरी मुक्ति दिवस

दुःखको पहाड चिर्दै नेतृत्वमा हिरामोती

blog

मुक्त कमल्हरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोति चौधरी । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, असार १३ गते । न कुनै सपना थियो, न नयाँ रहर । केवल आम छोरीजस्तै स्कूल जाने, किताब पढ्ने, साथीहरूसँग रमाउने रहर थियो हिरामोति चौधरीको । तर १२ वर्षकी हिरामोतीका लागि त्यो रहर रहरमै सीमित हुनपुग्यो । त्यो उमेरमा उहाँलाई जब कापी–किताब बोकेर स्कूल जानुपर्ने थियो । तर, हिरामोतिलाई कापी किताब होइन, मालिकको जुठो भाँडा र मालिकका परिवारले लगाएको मैला कडपा बोकेर धुन जानुपथ्र्यो । 

कैलालीको गौरीगंगा नगरपालिका –१ चौमाला गाउँको एउटा सामान्य परिवारमा जन्मिनुभएको हिरामोतिको बाल्यकालको यो बाध्यता थियो । बिहान सबेरै आँखामा निद्राको झल्को किताको अक्षर चिन्ने समयमा मालिकको घरको आँगन बराल्नुपथ्र्यो । कहिलेकाहिँ त मालिकको बच्चा स्कुल जाँदा हिरामोतिको आँखा रसाउँथ्यो । उहाँले त्यतिबेला घरको पछाडी गएर रुनुहुन्थ्यो । “रुँदा पनि लुकेर रुनुपथ्र्यो । उहाँले भन्नुभयो, “के म मात्र आभागी छु, स्कूल जान नपाउने ?”

तर गरिबीमा हार मानुपर्ने अवस्था थियो । परिवारको आर्थिक अवस्था कमजोर थियो । बुबा–आमाको काँधबाट थोरै भए पनि बोझ हलुका होस् भनेर उहाँलाई कम्लरीको रूपमा पठाइयो । अर्काको घरमा, अर्कै जिन्दगी बाँच्न, एक दिनको होइन, एक वर्षको होइन, झण्डै तीन वर्ष हिरामोतिलाई कम्लरीको दासत्व जिवन बिताउन बाध्य हुनुभयो ।

त्यहि समयमा सदियौ बर्षदेखि कम्लरी दासत्वको जिवन विताइरहका कम्लरी प्रथा उन्मुलनका लागि दाङ, वाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा कम्लरी मुक्ति अभियान चलिरहेको थियो । दाङबाट सुरु भएको त्यो अभियान जब कैलाली पुग्यो, त्यही अभियानमा हिरामोतिको जीवनको ढोका ढकढक्यायो । अनि उहाँलाई २०६४ सालमा मालिकको घरबाट सदाका लागि कम्लरीबाट मुक्त हुनुभयो ।

कम्लरीबाट मुक्त भएपछि हिरामोतिको जिन्दगीले हिराजस्तै मोड लियो । मुक्त कम्लरी विकास मञ्चको सहायतामा उहाँ स्कूल भर्ना हुनुभयो । पहिलो पटक हातमा जब नयाँ किताब, कापी र झोला आयो हिरामोति आँखामा खुशीको आँशु भरिएर छछल्कियो । “त्यसबोला आफुलाई सम्हालन सक्नु भएन । उहाँले भन्नुभयो, “त्यो बेला मेरा आँखामा पीडाका अनेक सम्भावना, अवसर र खुशीका आँशु थियो ।”

कक्षाकोठाबाट सुरु भएको उहाँको यात्रा आज उच्च शिक्षासम्म पुगेको छ । स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको हिरामोतीले भोगाइलाई शक्ति बनाउँदै, कहिले पछाडि फर्केर हेनुै परेको छैन । उहाँले आफ्नो अध्ययनसँगै विभिन्न संघ–संस्थामा आबद्ध हुनुभयो । उहाँको अनुसार लुथरन वल्र्ड फेडरेशन, सर्च फर कमन ग्राउण्ड, वल्र्ड भिजन, युथ अभियान, डब्लूआरएफजस्ता संस्थामा काम गर्दै उहाँले आफूजस्ता अन्य मुक्त कम्लरीहरूका लागि आवाज बुलन्द पार्न निरन्तर लागिरहनु भयो ।

आफ्नो लगाव र संकल्पले उहाँलाई मुक्त कम्लरी विकास मञ्च कैलालीको संस्थापक अध्यक्ष बनाइयो । उहाँसँग मात्र अनुभव थिएन, दृष्टि थियो सशक्तिकरणको । अहिले उहाँ मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष बन्न सफल हुनुभएको छ । कैलाली मात्र होइन्, दाङ, बाँके, बर्दिया, र कञ्चनपुरका सयौं मुक्त कम्लरीहरूको प्रतिनिधित्व गरिरहनुभएको छ । 

मुक्त कम्लरीहरुका लागि शिक्षा, सीप, रोजगारी, आत्मनिर्भरताका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्दै रातदिन खटिरहनुभएको छ । “हामी मुक्त भयौँ, तर अझै न्याय पाएका छैनौँ । उहाँले भन्नुभयो, “राज्यले हाम्रो इतिहासलाई बुझ्नुपर्छ,  हामीलाई केवल सहानुभूति होइन, सम्मानको अवसर चाहिएको छ ।”

सरकारसँग भएको सहमति कार्यान्वयनका लागि उहाँले स्थानीय सरकारदेखि संघीय सरकारसम्म निरन्तर आवाज उठाउँदै आउनुभएको छ । ‘मुक्त कम्लरीहरुको छात्रवृत्तिका लागि, परिचयपत्रको लागि, कानुनी अधिकार र पहिचानका लागि हामी निरन्तर लागिरहेका छौं, उहाँले भन्नुभयो, “सरकारले हाम्रो लागि केही पनि गरेन त भन्न मिल्दैन, तर जति गर्नुपर्ने हो त्यति हुन सकेको छैन ।’

सरकारले मुक्त कम्लरीहरुसँग दश वुँदे सहमति गर्दै २०७० असार १३ गते नेपालमा कम्लरी मुक्ति भएको घोषणा गरेको थियो । त्यहि सहमतिलाई आफूहरुले कार्यान्वयनका लागि राज्यलाई दबाबको सिर्जना गर्दैआएको उहाँले बताउनुभयो । हिरामोतीले अहिले मुक्त कम्लरीहरुले सञ्चालन गर्दैआएको ४२ वटा सहकारीको समेत अगुवाई गर्दै आउनुभएको छ । त्यसैले उहाँ मुक्त भएका कम्लरीहरुको लागि मात्र नभइ समाजका लागि  समेत प्रेरणाका स्रोत बन्नुभएको छ ।  

गाउँ–गाउँदेखि शहरसम्म मुक्त कम्लरीको अभिभावक र मुक्त कम्लरी परिवारलाई जागरुक र सचेत बनाउँदै आउनुभएको छ । कहिल्यै नबिर्सिने एउटा बाल्यकाल बोकेको कथा अहिले परिवर्तनको सम्वाहकमा रुपान्तरण भएको छ । उहाँको कथा एउटा दुःखद अतित मात्र होइन, एक उज्यालो भविष्य निर्माण गर्ने प्रेरणादायी मार्ग बनेको छ । कम्लरी जीवनबाट सुरु भएको उहाँको यात्रा अहिले नेतृत्वमा पुगेको छ । उहाँ एउटी कम्लरी मात्र नभएर यो समाजको असल नेत्री पनि बन्न सफल हुनुभएको छ ।