• १३ असार २०८२, शुक्रबार

उपचारमा सकिँदै सम्पत्ति

blog

अस्पतालमा डायलासिस गराउँदै आशादेवी दर्जी ।

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), असार १३ गते । मालिका गाउँपालिका–३, ह्वाङ्दीका २२ वर्षीय जीवन घर्तीमगर साढे तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्छ । भारतको कार्गिलमा काम गर्ने घर्तीमगरका दुवै मिर्गौलाले काम नगर्ने भएपछि परिवारले ऋणधन गरेर बुटवल र तम्घास गरेर करिब तीन वर्षदेखि डायलासिस गरिरहेको छ । 

जीवनको रेखदेख गर्ने ६३ वर्षीय आमा खगिश्वरा आफैँ पनि मुटु र पाठेघरको समस्याले पीडित हुनुभएको छ । ३२ वर्षीय छोरा युवराज घर्तीमगर १० वर्षदेखि भारतमा बेपत्ता हुनुहुन्छ । घरमा ८० वर्षीय श्रीमान् अपाङ्गता भएका हुनुहुन्छ । ३६ वर्षीय जेठा छोरा यकबहादुर पनि भारतमा दुर्घटनामा परेर बेहाल भएपछि खगिश्वरासँग औषधी किन्ने उपायसमेत नभएको बताउनुहुन्छ ।

आफ्नै औषधीले झोला भरिएका छन् । त्योमाथि छोराको अवस्था दैनिक नाजुक हुँदा खगिश्वराको अनुहारमा शान्तिको एक धर्सो छैन । उहाँले भन्नुभयो, “जो होचो, उसकै मुखमा घोचो’ भने झैँ परिवारले भोग्दै छ । छोराहरू हराउने र बिमारले ढल्ने भएपछि वृद्ध र बिरामी बाबाआमाले के गर्नु । कसैले दुःख देखेर सहयोग गरे औषधी र डायलासिसका भरमा बाँच्ने हो ।”

धुर्कोट गाउँपालिका–१, नयाँगाउँका राजु दर्जीले तीन वर्ष आमाको उपचार गर्दा २० लाख सक्नुभयो । ६५ वर्षीय आमा आशादेवी दर्जी मिर्गौला, क्यान्सर र पायल्सले पीडित हुनुहुन्छ । अहिले सातामा तीन दिन डायलासिस भइरहेको छ । बिस्तारै मिर्गौलाको समस्यामाथि पायल्स बल्झियो । अहिले त आशादेवीलाई दुई महिनादेखि क्यान्सरसमेत देखिएको छ । जीवनभर कमाएको पैसा आमाको उपचारमा सकिएपछि अहिले कसैले नपत्याउने अवस्था बनेको राजुले गुनासो गर्नुभयो । 

इस्मा गाउँपालिका–४ का केशवबहादुर मगरले आर्थिक अभावका कारण १६ वर्षीय छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासि नचल्ने भएपछि मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पु¥याउनुभयो तर अस्पतालले रोग पत्ता लगाउन सकेनन् । कैयौँ वर्ष छोरी कृष्णा र परिवारले दुःख झेले र केही समयअगाडि छोरी कृष्णाले संसार छोडिन् । गाउँको पाखोबारीबाहेक सम्पत्ति केही थिएन । “न छोरी रही न सम्पत्ति । दैवले तड्पाउनु तड्पाएर लग्यो,” केशवले भन्नुभयो, “अब गाउँभर ऋण र गहभरि आँसुबाहेक केही रहेन ।”

जिल्लामा गम्भीर प्रकारका नसर्ने रोगको सङ्ख्या वृद्धि हुँदै गएको छ । सरकारले यसको नियन्त्रणमा पर्याप्त काम गर्न सकेको छैन । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले नागरिकले उपचारको लागि सबै सम्पत्ति र ज्यान पनि गुमाउने स्थिति अन्त्यका लागि तिनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । सरकारले बजेट अनावश्यक पूर्वाधार र फजुल खर्चमा सके पनि स्वास्थ्य सचेतना र उपचारमा उल्लेखनीय काम गर्न नसकेको उहाँको भनाइ छ । 

स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा गुल्मीबाट मिर्गौलापीडित ५५, मुटुको रोगी १२०, क्यान्सरका १७७, हेड इन्जुरीका एक र स्पाइनल इन्जुरीका ११ गरेर ३६४ जनाले सिफारिस लिएका छन् ।