• १३ असार २०८२, शुक्रबार

ताप्लेजुङमा असारयता हवाई उडान ठप्प

blog

ताप्लेजुङको सुकेटार विमानस्थल । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, असार १३ गते । ताप्लेजुङमा असारयता हवाई उडान ठप्प भएको छ । जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा असार लागेसँगै हवाई उडान ठप्प भएको हो । 

चार महिना बन्द भएर चैत अन्तिम सातादेखि पुन सञ्चालनमा आएको हवाई उडान जेठ ३० गतेदेखि थप उडान हुन सकेको छैन । साताको सोमबार र शुक्रबार दुई दिन उडान हुँदै आएको सुकेटार विमानस्थलमा हुस्सु-कुहिरो लागेर भिजिबिलिटी कम भएकाले उडान बन्द भएको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार असार यता चार ओटा उडान प्रभावित भएका छन् । 

बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान हुन नसकेको इन्चार्ज कार्कीको भनाइ छ । 

हाल नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ गर्दै आइरहेको छ । आजका लागि ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्न र काठमाडौंबाट ताप्लेजुङ आउन तीन–तीन जना यात्रुले टिकट लिएका थिए । तर भिजिबिलिटी कम भएकाले उडान नहुँदा गन्तव्य पुग्नुपर्ने यात्रु प्रभावित भएका छन् । 

मौसम तथा प्राविधिक कारण नियमित उडान नहुँदा आवतजावत गर्ने यात्रुको सङ्ख्यामा समेत कमी आउन थालेको निगमले जनाएको छ । टिकट लिएर पनि ढुक्क भएर गन्तव्यमा पुग्न सकिने वातावरण नभएकाले सवारी साधनबाट नै लामो समय खर्चिएर जिल्लावासीहरू यात्रा गर्न बाध्य भएका छन् ।