• १२ वैशाख २०८१, बुधबार

मध्यरातसम्म नेपालगञ्ज उपमहानगरमा ७७९ जनाको विभिन्न पदमा उम्मेदवारी दर्ता

blog

मध्यरातसम्म उम्मेदवारी दर्ता गराउँदै उम्मेदवारहरु । तस्विर - सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, वैशाख १३ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको नेपालगञ्ज उपमहानगरमा ११७ वटा विभिन्न पदका लागि ७७९ जनाको उम्मेदवारी दर्ता भएको छ । 

नेपालगञ्ज उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्तामा अत्यधिक उत्साह देखिएको थियो भने मनोनयन दर्ता गर्ने कार्य सोमबार राति १२ बजेसम्म चलेको थियो । 

निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले मेयरका लागि १८, उपमेयरका लागि १०, २३ वटा वडा अध्यक्षका लागि १६६ जनाले मनोनयन पत्र दाखिला गर्नुभएको बताउनुभयो । 

उहाँले खुला सदस्यमा सबैभन्दा बढी ३०२ जना, महिला सदस्यका लागि १४९ जना र दलित महिला सदस्यका लागि १३४ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको बताउनुभयो । 

सहायक निर्वाचन अधिकृत चौलागाईंले वडामध्ये वडा नम्बर ५ मा सबैभन्दा बढी ११ जनाले मनोनयन दर्ता गराउनुभएको र सबैभन्दा कम वडा नम्बर १०, १२ र १३ मा ५–५ जनाले उम्मेदवारी दिनुभएको बताउनुभयो । 

ठूला दलहरुलाई उम्मेदवारी दर्ता गराउने समयमा उहाँहरु नपुग्दा र सबैजना एकै पटक पुग्दा मनोनयन दर्तामा ढिलाइ भएको र राति १२ बजेसम्म पनि दर्ता गर्नुपरेको निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले जनाएको छ । 

उपमहानगरको प्रमुखमा पाँच जनाले स्वतन्त्र उम्मेदवारी र १३ जनाले विभिन्न दलबाट उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा भने एक जनाको मात्र स्वतन्त्रमा उम्मेदवारी परेको छ भने नौ जनाले विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् । 

सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । 

मेयर उपप्रमुख नपाएपछि गठबन्धनबाट बाहिरिएको घोषणा गरेको नेकपा माओवादी केन्द्रबाट टङ्क धामीले मेयरमा र तारा रोकायाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । 

सोही प्रकारले राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् । 

मङ्गलबार दावी विरोध गर्ने दिन रहेको भए पनि यो समाचार तयार पारुन्जेलसम्म कसैले पनि दावी विरोध नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   




Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।