• ९ असार २०८१, आइतबार

गर्मीमा हैजाबाट बच्न के गर्ने ?

blog

काठमाडौँ, जेठ २२ गते। पछिल्ला केही दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन्। 

अस्पतालका अनुसार पछिल्लो केही दिनदेखि दैनिक दुई तीन जना बिरामी झाडापखालाको समस्या लिएर अस्पताल पुग्ने गरेका छन्। 

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो समय अस्पतालमा हैजासँग मिल्दाजुल्दा लक्षण लिएर बिरामी अस्पतालमा आउने गरेको बताउनुहुन्छ।  

उहाँ भन्नुहुन्छ, ‘पछिल्लो केही दिनदेखि अस्पतालमा दैनिक एक/दुई जना हैजाको जस्ता लक्षण लिएर अस्पतालमा आउने अस्पतालमा भर्ना हुने गरेका छन्।’ 

हरेक वर्ष देशका विभिन्न भागमा दूषित पिउने पानी र खानेकुराका कारणले हैजा हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा हैजाका कारण हरेक वर्ष लगभग ४० लाख मानिसमा हैजा पुष्टि हुने गर्छ भने एक लाख ४० हजारको हाराहारीमा हैजाका कारण मृत्यु हुने गर्छ। स्वास्थ्य सेवा विभागको वार्षिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशमा ४२ जना हैजाका बिरामी पुष्टि भएका थिए। 

हैजा के हो ?

चिकित्सकका अनुसार हैजा कडा खालको झाडापखाला हो। डा. पुनका अनुसार हैजा भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण भएर झाडापखाला लाग्ने गर्छ।

 उहाँ भन्नुहुन्छ, ‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणु निस्कन्छन्। ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छन्। मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ।’

‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणु निस्कन्छन्। ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छन्। मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ।’

डा.पुनका अनुसार हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ। हैजाले सामान्यदेखि जटिल स्वास्थ्य समस्या निम्तिने उहाँको भनाइ छ। 

डा.पुनका अनुसार झन्डै १० जना सङ्क्रमितमध्ये एक जनामा कडा खालको लक्षण देखिने गर्छ। उहाँ भन्नुहुन्छ, ‘हैजा हुँदा धेरैलाई सामान्य झाडापखालाको समस्या देखिने र औषधी खाए पनि निको हुने गर्छ भने थोरै जस्ता बिरामी अस्पतालमा आउनुपर्ने अवस्था सिर्जना हुन्छ।’ 

सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिनसक्ने डा. पुन बताउनुहुन्छ। चौलानी (चामलको माड )जस्तो पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशीका (विशेषगरी खुट्टा) बाउँडिनु यसका मुख्य लक्षण हुन्। सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ।

हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा बाउँडिने जलवियोजन भएर मानिसको मृत्यु समेत हुने डा.पुनको भनाइ छ। 

उहाँका अनुसार यो कडा खालको झाडापखाला भए पनि समयमा नै यो रोगको उपचार गरेमा निको हुने गर्छ। तर, यदि बिरामीले हेलचेक्राइँ गरेमा जलवियोजन भइएर मृत्यु हुन्छ। 

हैजा सङ्क्रमितले सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसामार्फत हैजाको ब्याक्टेरिया दिसाका माध्यमबाट बाहिर निकास्ने गर्दछन्।  व्यवस्थित चर्पी नरहेको वा सङ्क्रमितले आफ्नो हात राम्रोसँग साबुन पानीले नधोइदिँदा हैजा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने डा.पुन बताउनुहुन्छ।

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान दिनुपर्छ ।

डा.पुनका अनुसार हैजा छोएर सँगै बस्दाबस्दै सर्दैन। यो दूषित पानीको माध्यमबाट सर्ने गर्छ। त्यसका अतिरिक्त बासी खानेकुरा खाएमा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोयो भने त्यहाँबाट सर्ने गर्छ। 

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान उहाँको सुझाव छ। 

 काठमाडौँमा खानेपानीको अभाव भएकोले सरकारले जोखिम क्षेत्रलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने, पानीका मुहान सफा गर्ने गरेमा यसको जोखिम कम गर्न सकिने डा.पुनको सुझाव छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।