• ३ कात्तिक २०८२, सोमबार

चिउरीको पात र अम्बा बेचेर तिहार खर्चको जोहो

blog

इस्माबाट चिउरीका पात र अम्बाको व्यापार गर्न आएका कुमाल समुदायका व्यापारी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक ३ गते । रुखबाट खसे बाँचिन्न । दिनभर टिपेपछि बल्ल एक डोका पुग्छ । इस्मा गाउँपालिका-५, रजस्थलकी ४० वर्षीया सरस्वती कुमाल हरेक तिहारमा चिउरीका पात बोकेर तम्घास बजार आउनुहुन्छ । 

आफ्नैमा चिउरी छैन, रुख हुनेकोमा मागेर पात टिप्ने हो । दिनभर दुःख गरेर टिपेर बजार ल्याएको प्रती मुठा चिउरीको पात लाई १०० रुपियाँ पर्छ । तिहारको बेला चिउरीका पातको दुना टपरी हुने भएकाले ल्याउन सके बजारमा खोसाखोस छ । दुई दिन दुःख गरेर दुई हजार आम्दानी हुन्छ । आउजाउ गाडी भाडमा ५०० सकिने भएकाले मुस्किलले एक हजार ५०० जोगिन्छ । 

सरस्वती कुमालले तिहारमा दुई पटक चिउरीका पात बेच्नुहुन्छ । पातबाट कमाएको पैसाले तिहारको लागि नुन तेलको जोहो भैरहेको छ । इस्माका कुमाल समुदाय प्रायः घुमुवा व्यापार गर्छन् । उहाँ भदौ, असोजमा अम्बा र बर्सातको समयमा डौँडे निउरो बेच्न पनि बजार आउनुहुन्छ । सरस्वति कुमाललाई परिवार पाल्न दुःख छ । श्रीमान् चामबहादुर कुमाल लडेर खुट्टा भाँचिएपछि काम गर्न सक्नुहुन्न । कान्छा छोराले केहि समय पहिले आत्महत्या गरे । गरिखाने उमेरका छोराछोरीले आफ्नै मेसो गरे । बिहान साँझको हातमुख जोर्नकै लागि भएपनि दुःख नगरे काम नलाग्ने कुमालले बताउनुभयो । उहाँको बाध्यता बुझेर रेसुङ्गा नगरपालिका ७ घर भई बेलायतमा बस्ने मोहनप्रसाद पाण्डेले कुमाललाई दुई हजार १५० सहयोग गर्नु भएको छ । 

इस्मा गाउँपालिका-५ कै पूर्णबहादुर कुमाल र छविलाल कुमाल पनि अम्बा बोकेर बजार आउनुहुन्छ । उहाँहरू मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तम्घास सिमलटारी सडकमा गाडी नचल्दैदेखि डोकोमा अम्बा बोकर चार घण्टाको बाटो हिँडेर तम्घास बजार आउनुहुन्थ्यो । अहिले गाउँगाउँमा गाडी कुँद्न थालेपछि आफुहरू पनि गाडीमै अम्बा बोकेर आउँदा कमाइ कम हुने पूर्णबहादुरले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, 'दुई दिनको दुःखले दिनको चार सय बँच्दैन । बजारलाई मौसमको फल चखाउन पाए पनि खुसी छौ अलिअलि गुजारा पनि हुन्छ ।' 

अर्का व्यवसायी छविलाल कुमालले सम्पति र रोजगारी नभएपछि मौसमी उत्पादन खोजेर बेच्न हिड्नुपर्ने बाध्यतामा कुमाल समुदाय रहेको बताउनुभयो । उहाँले सबैभन्दा दुःखको काम निउरो टिप्ने भएकाले आफुले पछिल्लो समय बेच्न छोडेको बताउनुभयो । कुमालका अनुसार बिहानै उठेर पानी र पहिरोको जोखिमका बिच मालिका गाउँपालिकाका विभिन्न जङ्गललमा डौँडे निउरो टिप्ने हो । सिस्नोले पोल्ने, जुका लाग्नेदेखि जङ्गली जनावरको जोखिम मोलेर एक डोका निउरो पुग्ने भएकाले अचेल बिक्री गर्न छोडेको कुमालले सुनाउनुभयो ।