चित्र मिजार
सिन्धुपाल्चोक, कात्तिक ३ गते । विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथाम र लैङ्गिक समानता प्रवर्धनका लागि टुकी सङ्घ सुनकोशीले सुनकोशी गाउँपालिका जनप्रतिनिधि, कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
विद्यालयमा लैङ्गिक समानता तथा सुरक्षा प्रवर्धन, परियोजना अन्तर्गत चाइल्डफन्ड कोरियाको आर्थिक तथा चाइल्डफन्ड जापानको प्राविधिक सहयोगमा आयोजित तीन दिने उक्त तालिममा सुनकोशी गाउँपालिकाका गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, न्यायिक समिति, सामाजिक विकास एकाइका प्रतिनिधि, समाजसेवी अन्य सरोकारवालाहरू सहभागी थिए ।
तालिममा सहभागीहरूलाई स्थानीय तहका नीति तथा योजनामा लैङ्गिक समानता, अपाङ्गता तथा समाजिक समावेशीकरण, लैङ्गिक उत्तरदायी बजेट, विपद् जोखिम न्यूनीकरणलाई समावेश गर्ने सीप सिकाइएको टुकी सङ्घ सुनकोशीका तालिम संयोजक नवराज पराजुलीले जानकारी दिनुभयो । कार्यक्रमका स्रोत व्यक्ति कर्णबहादुर नेपाली र तेजबहादुर सुनार थिए ।
गाउँपालिका र वडाका प्रतिनिधिहरूले विद्यालय र समुदायमा लैङ्गिक हिंसा रोकथामका लागि आचारसंहिता र कार्ययोजना तयार गर्ने तालिम प्रदान गरिएको थियो । तालिमपछि सहभागीहरूमा लैङ्गिक समानता, बालसुरक्षा र SurvivorCentered Approach प्रति जागरूकता र आत्मविश्वास बढेको सहभागीहरूले जनाएका छन् । उक्त तालिमले असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म धुलिखेलको सारथी होटलमा सञ्चालन गरिएको थियो ।
विद्यालयमा हुने हिंसा घटाउन र समयमै प्रतिक्रिया दिन ठोस दिशा दिएको सुनकोशी गाउँपालिका–४ स्थित गणेश माध्यमिक विद्यालयका सदस्य रोहिन्द्र बिक्रम खड्काले प्रतिक्रिया दिनुभयो । सहभागी सबैले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।