• १२ साउन २०८१, शनिबार

सुन्तला बगैँचामा औँसा किराको प्रकोप

blog

गुल्मीको भाडगाँउ सुन्तला बगैचा । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, जेठ २१ गते । गुल्मीका किसानको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखिएको छ । आफूहरूले लगाएको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखा परेपछि भाडगाउँका किसान चिन्तित बनेका छन् ।

रेसुङ्गा नगरपालिकाको–३ भाडगाउँ र छत्रकोट गाउँपालिका–४ शृङ्गामा पनि औँसा किरा देखा परेको छ । आफूहरूले लगाएको सुन्तलाको बगैँचामा औँसा किराको प्रकोप देखा परेकाले चिन्तित बनाएको भाडगाँउका कृषक सीता गिरीले बताउनुभयो । 

यस्तै, सोही स्थानका अर्जुनप्रसाद भट्टराइको बगैँचामा पनि औँसा किराको प्रकोप देखा पर्नुका साथै बोटको टुप्पा सुक्नु, बोटहरू पहेँलो हुँदै गएको बताउनुभयो । आफ्नो बगैँचामा साना ठुला गरी दुई सयभन्दा बढी सुन्तलाका बोटहरू रहेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष भाडगाउँमा पाक्ने समयभन्दा अघि नै सुन्तला पाकेजस्तो देखिने र झर्नेक्रम बढेपछि किसानले कृषि ज्ञान केन्द्रलाई जानकारी गराएका थिए । ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले अनुगमन गर्दा सुन्तलामा औँसाको प्रभाव देखा परेको बताउनुभयो । भण्डारीका अनुसार एउटा औँसा किराले ५० देखि दुईसय वटासम्म किरा पार्ने हुँदा यसको प्रभाव तीव्र फैलिने बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख प्रमुख गङ्गाकुमारी पोखरेलले जिल्लामा सुन्तलामा देखिएको औँसा किरा रोकथाम र न्यूनीकरणका लागि बाली वस्तुविशेष स्थलगत तालिम दिन सुरु गरिएको बताउनुभयो । 

गुल्मीको सबै स्थानीय तहमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा एक हजार २७ हेक्टर बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । 

उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठुलोलुम्पेक, कालीगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, शृङ्गा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् । यस्तै, गुल्मी दरबारको गौडाकोट, जुभुंग, रेसुङगा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् । यी बाहेकका क्षेत्रमा पनि सुन्तला उत्पादन हुने गरेको छ ।