• १२ साउन २०८१, शनिबार

शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन

blog

आफ्नो सिर्जना वाचन गर्दै स्रष्टा र कार्यक्रमका अतिथिहरु। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १७ गते। ताप्लेजुङका वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। शाक्यको ९२ औँ जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको हो।

कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टाले सिर्जना वाचन गर्नुभएको थियो।  साहित्यिक स्रष्टाले कविता, गजललगायत विभिन्न विधाका सिर्जना वाचन गर्नुभयो। सिर्जना वाचन कार्यक्रममा स्वर्गीय शाक्यले नेपाली साहित्य तथा सङ्गीतको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण पनि गरिएको छ। 

सिर्जना वाचनमासमेत स्वर्गीय शाक्यको स्मरण तथा उहाँको साहित्य साधना झल्कने प्रस्तुति अभिव्यक्त भएका थिए। जिल्लामा अग्रज तथा सक्रिय स्रष्टा र बाल स्रष्टा लगायतले आ–आफ्नो सिर्जना वाचन गर्नुभएको थियो। कार्यक्रममा फुङ्लिङ नगरप्रमुख अमिर मादेन, सहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टङ्कबहादुर भट्टराई सहितका वक्ताले स्वर्गीय शाक्यको साहित्यिक योगदानको चर्चा गर्दै सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्नुभएको छ। 

स्वर्गीय शाक्यले २०१० सालमा हस्तलिखित कविताद्वारा साहित्य यात्रा सुरु गर्नु भएको थियो। उहाँले २०१५ सालमा ‘उपहार’ कथा सङ्ग्रह प्रकाशित गर्नुभएको थियो। त्यस्तै २०१८ सालमा ‘बाह्र मसला’ कथा सङ्ग्रह, २०४९ सालमा ‘जिन्दगीका फाँटहरू’, २०५८ सालमा गीत र गजल सङ्ग्रहसहित आधा दर्जन बढी उहाँका कृतिहरू प्रकाशित भएका छन्।