• ११ मंसिर २०८१, मङ्गलबार

क्यान्सरपीडितलाई आठ लाख सहयोग

blog

क्यान्सरपीडित बालकलाई उपचारका लागि सहयोग हस्तान्तरण गर्दै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १६ गते । कोहलपुर नगरपालिका –१० मा रहेको जीवनज्योति विद्यालयले प्राणघातक रोग ब्लड क्यान्सरबाट पीडित आफ्नो स्कुलका एक जना विद्यार्थीको उपचारमा आठ लाख रुपियाँ सहयोग गरेको छ । 

सो विद्यालयको कक्षा ४ का ब्लड क्यान्सर पीडित विद्यार्थी अध्ययन गौतमलाई विद्यालयले विभिन्न निकायसँगको सहकार्यमा उपचारका लागि सङ्कलित आठ लाख ४० हजार २७१ रुपियाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जोमन जेम्सले बताउनुभयो ।

सो सहयोग रकम बिरामीको अभिभावक अर्जुन गौतमलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक जेम्सले बताउनुभयो । बालक गौतमको हाल भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको अभिभावक अर्जुन गौतमले जानकारी दिनुभयो । अध्ययनको किमोथेरापी भइरहेको अभिभावकको भनाइ छ ।

बालकलाई गरिएको उपचार सहयोग रकम हस्तान्तरण कार्यक्रममा जीवन ज्योति विद्यालयका प्रधानाध्यापक जेम्सले आफ्नो विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई प्राणघातक रोग लागेको खवरले आफूहरू निकै दुःखी भएको बताउँदै स्कुलले विभिन्न निकायसँगको सहकार्यमा सहयोग रकम सङ्कलन गरेको बताउनुभयो । 

बालकको उपचार प्रक्रिया चलिरहेकाले थप सहयोग गर्ने प्रतिबद्धता गर्दै प्रधानाध्यापक जेम्सले अन्य सङ्घ संस्थालाई पनि सहयोग गर्न सो अवसरमा आग्रह गर्नुभयो । सामाजिक उत्तरदायित्व बहन गर्न जीवनज्योति विद्यालय परिवार सधैं अग्रसर रहेको जनाउँदै उहाँले बालकको उपचारका लागि हरसम्भव प्रयास गर्ने बताउनुभयो । 

जीवनज्योति विद्यालयले यसअघि कोरोना महामारी, भूकम्प प्रभावितलगायतका विपत्ति र महामारीमा पनि प्रभावितलाई सहयोग गर्दैआएको जनाएको छ ।