• १२ साउन २०८१, शनिबार

अत्यधिक गर्मीले 'आइपिभी' खोप अभियान प्रभावित

blog

नेपालगन्जमा आईपिभी खोप पाएका बालबालिकाहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १६ गते । अत्यधिक गर्मीका कारण बाँके जिल्लामा पोलियो रोग विरुद्धको आइपिभी खोप दिने अभियान प्रभावित भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रचण्ड गर्मी र तातो हावा लु का कारण नेपालगन्ज, कोहलपुर र बैजनाथ गाउँपालिकाका विद्यालयहरूमा पाँच दिन बिदा गरिएकोले सो अभियान प्रभावित भएको हो । 

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश पालिकाले विद्यालय बन्द गरेकाले पोलियो रोग विरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको बताउनुभयो । उहाँले जेठ १३ गतेबाट जिल्लाका ३५ हजार ७०५ जना बालबालिकालाई आइपिभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको सो अभियान अन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार ३३५ बालबालिकालाई खोप दिइसकिएको बताउनुभयो । 

विद्यालयहरू बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । खोप अभियान सुरु भएको तीन दिनमा ८ हजार ३७७ बालिका र ८ हजार ९५८ बालक गरेर १७ हजार ३३५ जनालाई खोप दिइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ । यसै क्रममा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगन्जमा करिब ३८ प्रतिशतलाई खोप दिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । 

३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आइपिभी खोप दिने अभियान जिल्लाका आठ वटै पालिकामा आइतबारबाट सुरु गरिएको थियो । खोप दिनका लागि जिल्ला भरि २४३ वटा खोप केन्द्र कायम गरिएको थियो । 

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ गतेबाट २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाईएपनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीले बताउनुभयो । जिल्लाका आठ वटै स्थानीय तहमा २४३ वटा खोप केन्द्र कायम गरेर विद्यालयका ३५ हजार २६९ जना र विद्यालय बाहिरका ४३६ जना बालबालिकालाई खोप दिने कार्य चलिरहेको बताउनुभयो । 

यसका लागि जिल्ला भरिमा ४८६ जना स्वयंसेवक पनि खटाइएको छ । पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिने कार्य भइरहेको छ ।