• १ असार २०८२, आइतबार

लुम्बिनी प्रदेश सरकारको बजेट आज

blog

देउखुरी समाचारदाता

देउखुरी, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभा सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूची अनुसार आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको १३ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । मन्त्री कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि सभामा पेस गर्नुहुने छ । 

सरकारले आगामी वर्षको बजेट प्रदेशको समृद्धि र विकाससँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखी प्रस्तुत गर्ने तयारी गरेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रलाई बजेटले विशेष प्राथमिकता दिने आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा आधारित रहेर बजेट ल्याइने उल्लेख गर्दै यो बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पु¥याउने दाबी  गर्नुभएको छ । प्रदेश सरकारले चालु आवमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको थियो । 

आगामी वर्षको बजेट त्यसको तुलनामा केही घटाएर ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ । सरकारले ल्याउन लागेको बजेटले नीति तथा कार्यक्रमको निरन्तरता सुनिश्चित गर्दै प्रदेशवासीको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।