• ९ मंसिर २०८१, आइतबार

औलोका बिरामी स्थानीयभन्दा आयातीत बढी

blog

काठमाडौँ, वैशाख १२ गते । औलो रोग (मलेरिया)का बिरामी स्थानीयभन्दा आयातीत बढी भएको तथ्याङ्कले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले विश्व मलेरिया दिवसको अवसर पारेर सार्वजनिक गरेको तथ्याङ्कमा स्थानीयभन्दा आयातीत औलोका बिरामीहरु बढी देखिएका हुन । 

हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । ''औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔं'' भन्ने मूल नाराका साथ” साथ यो वर्ष पनि सोमबार औलो दिवस मनाउँदैछ ।  

प्राप्त तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७८-७९ को बैशाखसम्म ३३६ जना औलोका बिरामी थपिएका छन्, जसमध्ये २८ जना स्थानीय र ३०८ जना आयातीत छन् । 

त्यसैगरी, आर्थिक वर्ष २०७७-७८ को तथ्याङ्क अनुसार ३७७ जना औंलोका बिरामी देखिएकोमा ३११ जना बिरामी आयातीत छन् भने ६६ जना स्थानीय छन् । बिरामीमध्ये प्लाज्मोडियम फाल्सिपारम ५१ र प्याज्मोडियम भाइभेक्स ३२६ जना रहेका थिए । 

नेपाल भारत सीमा खुला भएकाले भारतबाट आएका औलोका आयातीत बिरामीहरु बढी भेटिएको  इडिसिडीका निर्देशक डा चुमनलाल दास बताउनुहुन्छ । कर्णाली प्रदेशको मुगु र सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा बढी औलोका बिरामी भेटिएको निर्देशक दासले जानकारी दिनुभयो । 

नेपाल भारत खुला सिमाना, विचमा रक्त परीक्षण गर्ने प्रावधान नभएको कारणले नेपालबाट कामको सिलसिलामा गएका नेपालीहरु औलो रोगको सिकार भई नेपाल आँउदा रोगसहित आउने र घर परिवार तथा समुदायमा पनि लामखुट्टको टोकाइबाट सरेकाले आयातीत बढी मात्रामा देखिएको हो

निर्देशक डा. दास भन्नुभयो, “सुरुमा नेपालका तराईका जिल्लामा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत बढ्दै गएको छ । जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा लामखुट्टेहरु देखिन थालेको हुँदा औलो जता पनि देखिन सक्ने सम्भावना देखिन्छ । नेपाल भारत खुला सिमाना, विचमा रक्त परीक्षण गर्ने प्रावधान नभएको कारणले नेपालबाट कामको सिलसिलामा गएका नेपालीहरु औलो रोगको सिकार भई नेपाल आँउदा रोगसहित आउने र घर परिवार तथा समुदायमा पनि लामखुट्टको टोकाइबाट सरेकाले आयातीत बढी मात्रामा देखिएको हो 

ईडिसिडिका अनुसार, उच्च जोखिम भएका जिल्ला १४ वटा छन् । त्यस्तैगरी, नेपालमा दुई हजार ५५१ वटा वडाका एक करोड १९ लाख दुई हजार ६५९ जना मानिस औलो रोगका जोखिममा रहेको ईडिसिडिको तथ्याङ्कले देखाएको छ । 

औलोका बिरामी कहाँ कति ?

 प्रदेश १ मा  तीन जना औंलोका बिरामी भेटिएका छन् । भेटिएका तीन नै जना आयातीत बिरामी रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, मधेश प्रदेशमा ११ जना औंलोका बिरामीको सङ्ख्या भेटिएकोमा दश जना आयातीत  छन् भने एकजना स्थानीय बिरामी छन् । 

बाग्मती प्रदेशमा १० जना बिरामी भेटिएकोमा ८ जना बिरामी आयातीत  छन् भने दुई जना स्थानीय छन् ।  गण्डकी प्रदेशमा  १२ जना औलोका बिरामी भेटिएकोमा १२ जना बाहिरका छन् । लुम्बिनी प्रदेशमा ८४ जना औंलोका बिरामी भेटिएकोमा ७७ जना आयातीत रहेका छन् भने सात जना स्थानीय रहेका छन् । 

कर्णाली प्रदेशमा ३४ जना औंलोका बिरामी भेटिएकोमा १७ जना आयातीत र १७ जना स्थानीय रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २२३ जना औंलोका बिरामी भेटिएकोमा १८४ जना आयातीत र ३९ जना स्थानीय छन् । 

कुन वर्षमा कति बिरामी भए 

सरकारको तथ्याङ्क अनुसार केही वर्षदेखि औंलोका बिरामीको सङ्ख्या घट्दै गएको देखिएको छ । 

२०७३-७४ मा स्थानीय ४९२ र आयतित ६३६ गरी ११ सय २८ जना औलोका बिरामी थपिएका थिए । त्यस्तै, २०७४-७५ मा ५५७ स्थानीय र ६३० आयातीत गरी ११ सय ८७ जना औलोका बिरामी थपिएका छन् । 

२०७५-७६ मा ४४० स्थानीय र ६२५ आयातीत गरी एक हजार ६५ जना औलोका बिरामी थपिएका छन् । २०७६-७७ मा १०२ स्थानीय र ५१७ आयातीत गरी  ६१९ जना औलोका बिरामी थपिएका छन् । २०७७-७८ मा  ६६ स्थानीय र ३११ आयतित गरी ३७७ जना औलोका बिरामी थपिएका छन् । 

हाल नेपालमा बर्सेनि पाँच सयभन्दा कम  प्रयोगशालाबाट औलोका बिरामीको निदान हुने गरेको छ । 

औलो रोग कसरी लाग्छ ?

औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । वरिष्ठ कीटविशेषज्ञ शम्भुनाथ झाका अनुसार औलो रोग सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगको रोकथामको उपाए हो । 

डा. झा भन्नुहुन्छ, “लामखुट्टेले टोकेपछि औलोको परजीवि मानिसको रगत हुँदै कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ ।” लामखुट्टेले टोकेर परजीवि शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ ।  

औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्ने झाले जानकारी दिनुभयो । प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसमा पनि सर्न सक्छन् ।

नेपालमा औलोका दुई परजीविहरु प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्स जातको पाइने झा बताउनुहुन्छ । विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ । 

झाका अनुसार, बेस्सरी टाउको दुख्नु, वाकवाकी हुनु, वान्ता हुनु, हात–खुट्टा तथा जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु र ज्वरो आउनु औलोका लक्षण हुन् । गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने हुँदा बढी औलो रोगको जोखिममा पर्दछन् । 

औलोबाट बच्चने उपाए

हात, खुट्टा छोप्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, शरीरको खुला भागमा किटनाशक मलम लगाउने,घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने,घर, गाउँ समुदाय सफा राखी लामखुट्टे हुर्किन नदिने, घरवरिपरि पानी जम्ने खाडल पुर्ने गर्नु कीटविज्ञको सुझाव रहेको छ । 

सरकारले नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ । सोही अनुरुप सन् २०२२ र २०२३ सम्म स्थानीय औलो बिरामीको सङ्ख्या शून्य कायम गरी त्यसलाई दुई वर्ष निरन्तरता दिनुपर्ने थियो । २०२५ सम्म औलो निवारण गर्ने गरी काम गरेको इडिसिडीका निर्देशकको दाबी छ । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।