• १९ असार २०८१, बुधबार

विद्युत् खेर जान नदिन पहल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १२ गते । प्रसारण लाइनको अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले चासो देखाएको छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसक्ने स्थिति आएको भन्ने गुनासो आएपछि प्राधिकरणको उच्च व्यवस्थापनले त्यस क्षेत्रको निरीक्षण भ्रमण गरेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानलगायतको टोलीले शनिबार आयोजनाहरूको निरीक्षण गरेको हो । 

टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी कोरिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि.को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’लगायत आयोजना निरीक्षण गरेको हो । 

प्राधिकरणले दोर्दी खोलाका जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी कोरिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो । 

गत असार १ गते दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये चारवटा बगाएको थियो । अहिले बाढीले बगाएका टावर र जलविद्युत् आयोजनाको पुनर्निर्माण भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

“बाढीले क्षति पु¥याएको प्रसारण लाइन र जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मतसम्भार भइरहेको छ । यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ । त्यसैले जलविद्युत् आयोजनाको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।

आयोजनाहरूमध्ये दोर्दी खोला दोर्दी–१ जलविद्युत् आयोजनाको काम छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी ‘ए’को केही समय लाग्ने देखिएको उहाँले बताउनुभयो । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षण सम्पन्न गरी २० दिनभित्रमा व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जानकारी गराएको छ । 

आयोजनाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्थाअन्तर्गत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत्गृहको स्विचयार्डमा जोडिनेछ । यसका लागि उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब छ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाखभित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्विचयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ । 

उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत् पनि मध्यमस्र्याङ्दीको स्विचयार्डमै जोडिनेछ ।   

“प्रसारण लाइन अभावमा ३९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन । यसमा मुख्य रूपमा ठेकेदारले गम्भीर भएर काम गरिदिनुप-यो,” कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भन्नुभयो । 

बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावर लि.ले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको छ । 

स्थानीयवासीको अवरोधले खुदी–उदीपुर प्रसारण लाइन निर्माणमा केही ढिला हुँदा वैकल्पिक व्यवस्थाअन्तर्गत चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत् जोडिएको छ ।