काठमाडौँ, वैशाख ६ गते । लेखक शोभा अधिकारीको लघुकथा कृति ‘आमाको माया’ सार्वजनिक भएको छ । लघुकथा समाज नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार पुरुषोत्तम दाहाल, समाजका अध्यक्ष तुलसीहरि कोइरालालगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
वरिष्ठ नाटककार मल्लले हाल एआईलगायत नयाँ प्रविधिले सिर्जना/लेखनको क्षेत्र बढी प्रभावित भइरहेको बताउँदै लेखकले आफ्नो भावलाई कलात्मक रूपमा निरन्तर मेहनतका साथ पस्कँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । स्रष्टा समाजका अध्यक्ष श्रेष्ठले लेखक अधिकारीले यस सङ्ग्रहमा समेट्नुभएका लघुकथा परिकल्पनाभन्दा पनि नेपाली समाजका यथार्थ र हरेकले अनुभव गरेका सन्दर्भमा रहेकाले निक्कै रोचक रहेको बताउनुभयो ।
त्यस्तै पत्रकार दाहालले आफ्नो दिमाग मेसिन र प्रविधिलाई दिएर खुसी मनाइरहेको यस समयमा छोटो/मिठो शैलीमा समाजको यथार्थलाई देखाउन सक्ने यस्ता लघुकथा कृति सान्दर्भिक हुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष कोइरालाले समाजले पुरस्कार र सम्मानको समेत व्यवस्था गरी लघुकथाको विकास, उन्नतिका कामलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । लेखक अधिकारीले आमाको माया पहिलो कृतिका रूपमा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताउँदै पढेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।