मुगु समाचारदाता
मुगु, वैशाख ६ गते । नियमित सेवा दिन नसकेका कारण मुगुवासीले बारम्बार गुनासो गरिरहने नेपाल वायुसेवा निगमको सेवा अहिले नियमित हुन थालेको छ । पछिल्लो समय निगमले सातामै चार दिन उडान सेवा दिन थालेको छ । नेपाल एयरलाइन्स रारा ताल्चा विमानस्थलका स्टेसन इन्चार्ज नवीनकुमार विष्टका अनुसार गत फागुनको अन्तिम साताबाट नेपालगन्जबाट हप्ताको चार पटक आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडानको व्यवस्था मिलाइएको छ । साथै बिहीबार प्रदेश राजधानी सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान गरिएको उहाँले जानकारी दिनुभयो ।
नियमित उडान सुरु भएसँगै विशेष गरी बाहिर लैजानुपर्ने बिरामीलाई ठुलो राहत मिलेको उहाँले बताउनुभयो । आपत्कालीन स्वास्थ्य सेवाका लागि समयमै जहाज नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थासमेत भएकोमा अब भने त्यो समस्या हट्न थालेको छायानाथ रारा नगरपालिका–४ का स्थानीय महेन्द्र भामले बताउनुभयो । प्रसिद्ध पर्यटकीय गन्तव्यका रूपमा परिचित राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि अहिले निकै सहज भएको उहाँको अनुभव छ ।
मुगुको खत्याड गाउँपालिका–४ का युवा अनिल बानियाँका अनुसार दुर्गम भेगका नागरिकको सहजताका लागि लामो प्रयासपछि अहिले ताल्चा विमानस्थलमा नियमित उडान हुन सुरु भएको छ ।
नेपाल एयरलाइन्स नेपालगन्जका क्षेत्रीय प्रबन्धक यमराज सिंहका अनुसार एउटा जहाज नेपालगन्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको छ । कुनै समयमा रारा विमानस्थलमा हप्ताको दुई पटक उडान भर्ने नेपाल एयरलाइन्सले अहिले कार्यतालिका अनुसार सबै हिमाली जिल्लामा नियमित उडान भरेको छ । प्रबन्धक सिंहका अनुसार जहाज हप्ताको एक दिन नियमित मर्मतसम्भार गर्न शुक्रबार काठमाडौँ जाने र आइतबार नेपालगन्ज स्टेसनमा आउने गरेको छ ।