• ४ जेठ २०८१, शुक्रबार

कैलालीका सत्तारुढ दलवीच सहमति

blog

प्रकाशविक्रम शाह 

धनगढी, वैशाख १२ गते । कैलालीका सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वीच लामो समयको प्रयासपछि सोमबार राति सहमति भएको छ । 

सहमति अनुसार कैलालीका १३ पालिकामध्ये नेपाली काँग्रेसले सातवटा, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व लिने भएका छन् । यस्तै काँग्रेसले पाँचवटा र माओवादी सात र एकीकृत समाजवादीले एक पालिकाको उपप्रमुखमा उम्मेदवारी दिन पाउने भएका छन् । काँग्रेसले महत्वपूर्ण पालिकाहरु धनगढी, गोदावरी, लम्कीचुँहा र टीकापुरको नेतृत्व गर्ने भएको छ । 

यस्तै माओवादीले गौरीगंगा र भजनीको नेतृत्व गर्ने भएको छ । यस्तै समाजवादीले एकमात्र नगरपालिका घोडाघोडी पाएको छ । छ वटा गाउँपालिकामा पनि काँग्रेसले जानकी, वर्दगोरिया र जोशीपुर गरेर तीन, माओवादीले कैलारी र मोहन्याल गरेर दुई र समाजवादीले चुरेको नेतृत्व पाएको छ ।

सहमति अनुसार नेपाली काँग्रेसले गौरीगंगा, घोडाघोडी, भजनी नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनाउने भएको छ । यस्तै गरेर काँग्रेसले कैलारी, मोहन्याल, चुरेको उपप्रमुखमा पनि उम्मेदवारी दिने भएको छ । 

नेपका (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दीर्घ सोडारीका अनुसार माओवादीले धनगढी उपमहानगर, टीकापुर, लम्कीचुँहा नगरपालिका, जोशीपुर, जानकी, वर्दगोरिया गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने भएको छ । भने एकीकृत समाजवादीले गोदावरी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने छ । 

नेपाली काँग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दीर्घ सोडारीले हस्ताक्षर गरेको सहमतिमा गठवन्धनलाई मतदान गर्न मतदातालाई आव्हान गरिएको छ ।

सो सहमतिमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालसंग वडा तहमा सहमति गर्ने उल्लेख छ । यस्तै गरेर नेकपा (एमाले) ले जितेका २४ वडामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीले ८÷८ जना उम्मेदवार उठाउने सहमति भएको छ । 

कैलालीमा १२६ वडा रहेका छन् । ती वडमा कसका कति उम्मेदवार उठाउने भन्ने विषयमा भने वडा तहमै सहमति हुने बताइएको छ ।