• २४ पुस २०८१, बुधबार

ट्याक्सीमा नयाँ भाडादर लागू

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, वैशाख १२ गते । बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । 

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपियाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपियाँका दरले भाडादर बढ्दै जानेछ ।  यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ । 

यस्तै विद्युतीय ट्याक्सीका लागि ‘फ्लाग डाउन’ ५० रुपियाँ र प्रतिदुई सय मिटरमा नौ रुपियाँका दरले बढ्दै जानेछ । रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको ‘फ्लाग डाउन’ १३ रुपियाँ र प्रतिदुई सय मिटरमा १३ रुपियाँका दरले भाडा बढ्दै जानेछ । हाल विद्युतीय ट्याक्सी भने सञ्चालनमा छैनन् ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशभरि नयाँ भाडादर निर्धारण गरेर लागू गरिएको जानकारी दिनुभयो । अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

नयाँ भाडादर समायोजन गर्न मन्त्रालयले गुणस्तर तथा नापतौल कार्यालयले काठमाडौँलाई पत्राचार गरेको थियो । नयाँ भाडादर लागू भएसँगै ट्याक्सीमा मिटर जडान गरेर समायोजन गर्ने काम भइरहेको कार्यालयका निरीक्षण अधिकृत निराजन पुडासैनीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “एक साताअघिदेखि ट्याक्सीको मिटरमा नयाँ भाडादर समायोजन भइरहेको छ । दैनिक ६० का दरले हालसम्म चार सय ट्याक्सीमा भाडादर समायोजन भइसकेको छ । ट्याक्सीको भाडादर समायोजन तीन/चार महिनाभित्र सकिने विभागले जानकारी दिएको छ ।” 

एक हजार ६५२ ट्याक्सीलाई भाडा समायोजन गर्न भाडासम्बन्धी तालिका दिएको विभागले जानकारी दिएको छ । बागमती प्रदेशमा सात हजार ट्याक्सी सञ्चालनमा छन् । 

दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दायर

गुणस्तर तथा नापतौल कार्यलयले मिटर बिगारेर यात्रु ठगी गर्ने दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षमा मिटर बिगारेर ठगी गरेको उपभोक्ताको उजुरीका आधारमा बा. १ ज १६६७ र दिउँसोको समयमा तोकिएकोभन्दा बढी भाडा लिएको फेला परेपछि बा. १ ज ४७४९ नम्बरको ट्याक्सी चालकलाई कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो । 

आव २०७५/७६ देखि २०७७/७८ सम्म १५ वटा ट्याक्सी चालकलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।  स्टान्डर्ड नाप र तौल ऐन २०२५ अनुसार विभागबाट अनुमति नलिए एक वर्ष कैद र १० हजार रुपियाँ जरिवानाको व्यवस्था छ । यस्तै सिल चुडाएको अथवा मिटर बिगारे यात्रु ठग्नेविरुद्ध तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवानाको व्यवस्था ऐनमा छ ।