• ३ असार २०८१, सोमबार

रासायनिक मलको विकल्पमा जैविक मल

blog

तनहुँ समाचारदाता

तनहुँ, जेठ १४ गते । रायायनिक मलको विकल्पमा बायोडायनामिक जैविक मल उद्योग स्थापना गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९, मरेतरास्थित गौ संरक्षण केन्द्रले उक्त उद्योग स्थापना गरेको हो । 

स्वस्थ कृषि उत्पादनका लागि स्वस्थ प्राङ्गारिक मल हुनुपर्ने भएकाले रासायनिक मलको विकल्पमा उद्योग स्थापना गरिएको गौ संरक्षण केन्द्रका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । रासायनिक मलको अभाव हुने, खरिदमा ठुलो रकम बिदेसिने भएकाले त्यसको विकल्पका रूपमा जैविक मल प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । लम्सालका अनुसार तीन लाख रुपियाँ लागतमा उद्योग स्थापना गरिएको हो । 

उहाँका अनुसार उद्योगबाट उत्पादित मलले रासायनिक मलको भन्दा धेरै उत्पादन दिने हुँदा रासायनिक मललाई प्रतिस्थापन गर्न सकिने छ । रासायनिक जस्तै विभिन्न प्रकारका मल उत्पादन गरी प्रतिकिलो ५० देखि एक सय रुपियाँमा बिक्री गरिने छ । 

तीन महिनाभित्र मल उत्पादन हुने छ भने उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नुका साथै माटोको उर्वराशक्तिलाई बढाउने दाबी उहाँले गर्नुभयो । 

स्थानीय गाईको गोबरबाट बनाइएको जैविक मलले बोटबिरुवा छिटो बढ्ने, राम्रो उत्पादन दिने र बाली संरक्षक प्राङ्गारिक जीवाणुको रक्षा गर्ने बायोडायनामिक जैविक मलका प्रशिक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठले भन्नुभयो, “माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग किराको प्रकोप नियन्त्रण गर्न यस मलले सहयोग गर्दछ ।”

केन्द्रका अनुसार स्थानीय गाईको गोबर र गहुँत, झारपात, ढुङ्गाको धुलो, पिना, अन्डाको बोक्रालगायत स्थानीयस्तरमा पाइने कच्चा पदार्थबाट मल बनाइने छ । च्वयनधामकी उपाध्यक्ष अस्मिता खनाल पन्तले किसानले मलको विकल्प नपाइरहेको अवस्थामा जैविक मल उत्पादन उद्योग प्रभावकारी हुने बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाले छाडा गाई तथा गोरुको नियन्त्रणका लागि १७९ रोपनी जमिनमा कान्जी हाउस सञ्चालन गरेको छ । सो केन्द्रमा दुई सय वटा गाई रहेका छन् ।