• ३ असार २०८१, सोमबार

भैँसीपालनबाट वार्षिक छ लाख

blog

रजनी योगी

सुर्खेत, जेठ १३ गते । व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाका किसानले दुध बेचेर मनग्गे आम्दानी गर्न थालेका छन् । किसानले दुधबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा उत्पादित दुध स्थानीय बजारमा नै खपत हुने गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ का ३५ वर्षीय नगेन्द्र उपाध्यायको बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल युवा उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएका उपाध्याय सधैँ भैँसी स्याहारदेखि दुध बिक्रीवितरणमा व्यस्त देखिनुहुन्छ । 

उपाध्याय पशुपालन पेसाबाट सन्तुष्ट हुनुहुन्छ । “वार्षिक छ लाख बचत गर्ने गरेको छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ,” उहाँले भन्नुभयो । बिहानको मिर्मिरे उज्यालोसँगै उहाँको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आउनुभएका उपाध्यायले २०७८ मा ‘रत्न सत्य एग्रो टुरिजम प्रालि’ दर्ता गरी व्यावसायिक रूपमा भैँसीपालनको सुरुवात गर्नुभएको हो । उहाँले भन्नुभयो, सुरुमा एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ, अहिले फार्ममा सानाठुला गरी १२ वटा भैँसी छन् । तीमध्ये सात वटा दुहुना भैँसी छन् । उहाँका अनुसार दैनिक ६० देखि ७० लिटरसम्म दुध वीरेन्द्रनगर बजारमा बिव्रmीवितरण हुन्छ । वीरेन्द्रनगरमा दुधको फुटकर मूल्य ८० रुपियाँ प्रतिलिटर छ । 

उपाध्यायले फार्ममा हालसम्म करिब ३० लाख लगानी गरिसक्नुभएको छ । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उहाँले बताउनुभयो । 

गोबर बेचेर अतिरिक्त आम्दानी

उपाध्यायले अचेल आफ्नो फार्मबाट दुध मात्रै बेच्नुहुन्न । उहाँले गोबर पनि मलका रूपमा बेचेर दुई लाख रुपियाँ हात पारिसक्नुभएको छ । गाईभैँसीको गोबर बेचेर वार्षिक दुई लाखभन्दा बढी कमाउनुहुन्छ । 

उपाध्यायको गोठबाट वीरेन्द्रनगरका विभिन्न वडाका कृषकले गोबर किनेर लैजाने गरेका छन् ।