• ८ वैशाख २०८१, शनिबार

इरानका राष्ट्रपतिद्वारा अफगानिस्तानमा भएको बम हमलाको निन्दा

blog

तेहरान, वैशाख ११ गते । इरानका राष्ट्रपति इब्राहिम राइसीले हालै अफगानिस्तानमा भएको बम विस्फोट र हत्याको निन्दा गर्नुभएको छ । उहाँले अफगानिस्तानमा पछिल्ला समयमा पुनः हत्या हिंसाका घटना हुन थालेको भन्दै यहाँका नागरिकको सुरक्षाका लागि आफूहरुको ऐक्यबद्धता रहने बताउनुभएको छ ।

उहाँले पछिल्ला दिनहरुमा अफगानिस्तानका विद्यालय, मस्जिद आदिमा बम हमला गरी नागरिकको ज्यान लिने काम बढ्दै गएको भन्दै यसतर्फ सतर्क रही नागरिकको सुरक्षा गर्न अफगान सरकारसमक्ष आग्रह पनि गर्नुभएको छ ।

अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनामा अरी अरु झण्डै ४० जना घाइते भएका बताइएको छ । सो मस्जिदमा हरेक शुक्रबार हुने प्रार्थना सकिएको केही समयमै मस्जिदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शुक्रबार अपराह्न भएको सो विस्फोट निकै भयानक रहेको पनि अधिकारीहरुले जनाएका छन् । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।प्रहरीले घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या  बढ्न पनि सक्ने छ ।

सो विस्फोट भएलगत्तै घटनास्थलमा पुगेर तालिवान सरकारका सुरक्षाकर्मीले सुरक्षा दिएका र अनुसन्धान थालेका बताइएको छ । तर त्यहाँ भएको उक्त विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । पछिल्ला केही दिनमा यहाँ विस्फोटका घटना हुन थालेका छन् । अघिल्लो हप्ता मात्र पनि यहाँ भएको यस्तै विस्फोटहरुमा परेर ३४ जनाको मृत्यु भएको थियो भने अरु दर्जनौँ व्यत्तिः घाइते भएका थिए ।