• २ असार २०८१, आइतबार

विपत व्यवस्थापनको तयारी, बढी प्रभावित हुने ठाउँको नक्साङ्कन

blog

सुर्खेत समाचारदाता

सुर्खेत, जेठ ११ गते । मनसुनको समय सुरु भएपछि हुन सक्ने सम्भावित विपत् का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सुर्खेतमा विपत्बाट बढी प्रभावित हुने ठाउँको नक्साङ्कन गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेशभित्र सुर्खेत विपत्मा सबैभन्दा बढी बाढीबाट प्रभावित हुने जिल्ला हो । त्यसैले जिल्ला विपत् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ मा विपत्बाट बढी प्रभावित हुने स्थानहरूको पहिचान गरी नक्साङ्कन गर्ने तयारी गरेको हो ।

सुर्खेत भएर भेरी नदी, कर्णाली नदीका साथै साना खोला बग्ने गर्दछन् । यी नदी र खोलासँग जोडिएका पालिकाका वडामा बर्सेनि बाढीपहिरोले क्षति हुने गरेको छ । सिम्ता, बराहताल, चौकुने र चिंगाड गाउँपालिका, गुर्भाकोट, भेरीगङ्गा र पञ्चपुरी नगरपालिकामा भेरी र कर्णाली नदीले क्षति पु¥याउँछ भने वीरेन्द्रनगर नगरपालिकामा साना खोलाले बाढी र पहिरोको विपत् ल्याउने गरेको छ । सानो पानीले पनि बाढी आउने भएकाले बाढीपहिरोबाट सुरक्षित स्थानमा जानका लागि बढी प्रभावित स्थलको नक्साङ्कन गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताउनुभयो । 

यसै गरी वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा निर्माण गरिएको मौसमी राडार बिग्रिएकोले अविलम्ब मर्मत गर्न आग्रह गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका पूर्वप्रमुख देवकुमार सुवेदीले कम्तीमा सात दिनसम्मको मौसमबारे पूर्वसूचना दिने मौसमी राडार बिग्रेको दुई वर्षभन्दा बढी भइसकेकाले छिटो मर्मत गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । पूर्वसूचना प्रवाह गरी जोखिमबाट स्थानीयलाई बचाउन सकिने हुँदा उक्त राडार अविलम्ब मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । 

गत वर्षको वैशाखदेखि यस वर्षको जेठको पहिलो सातासम्म विपत्बाट सुर्खेतमा चार जनाको मृत्यु भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार बाढीबाट दुई जना र पहिरो तथा आगलागीबाट एक/एक जनाको मृत्यु भएको छ । प्रशासकीय अधिकृत पौडेलले सो अवधिमा अन्य घटनाबाट एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । विपत्बाट चार जना र अन्य घटनाबाट एक सय जना गरी १०४ जनाको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । यसका साथै सो अवधिमा विपत्का विभिन्न घटनाका १४ जनाले प्रशासनबाट राहत लिएका छन् । 

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले मनसुन सुरु भइसकेकोले त्यसको प्रतिकार्यका लागि सबै तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली, रत्न राजमार्ग, भेरी कोरिडोरलगायतका मुख्य सडकमा पहिरोले सडक अवरुद्ध हुन सक्ने हुँदा डोजरलाई तयारीको अवस्थामा राख्नुपर्ने सुझाव दिनुभयो । 

त्यसै गरी उहाँले अत्यावश्यकीय क्षेत्र बिजुली, सञ्चार, एम्बुलेन्स, दमकललगायत राहत उद्धारका सामग्री पनि जिल्ला तथा सम्बन्धित पालिकामा पनि तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । विपत्लाई रोक्न नसकिने तर यसबाट हुन सक्ने क्षतिलाई कम गराउन सङ्घ, प्रदेश र स्थानीय तहका साथै सामाजिक सङ्घ संस्था, नागरिक समाज सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आह्वान गर्नुभयो । यसका साथै पूर्वसूचना प्रणालीको मौसमी राडारलाई अविलम्ब मर्मत गर्नका लागि केन्द्रमा तत्काल पत्राचार गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।