रामकृष्ण बोहरा
बागलुङ, कात्तिक १८ गते । उद्योग वाणिज्य सङ्घ बागलुङको अगुवाईमा जिल्लाभित्र एक सय युवा उद्यमी उत्पादन गरी व्यवसाय प्रवर्धनमा लगाइने भएको छ ।
उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्किल अपग्रेड इन्स्योर परियोजनामार्फत बागलुङ उद्योग वाणिज्य सङ्घ, गलकोट उद्योग वाणिज्य सङ्घ र ढोरपाटन उद्योग वाणिज्य सङ्घमार्फत एक सय युवालाई उद्यममा लगाउने तयारी गरिएको हो ।
अन्य जिल्लामा पनि आवश्यकताको आधारमा उद्यमी उत्पादनको काम गर्ने निर्णय गरेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार र स्विस सरकारको सहयोगमा उद्योग वाणिज्य सङ्घमार्फत विभिन्न तालिम र उद्योगमै पुगेर काम गर्ने अवसरसहित दस युवा उद्यमी उत्पादन गरिने छ ।
त्यसका लागि बागलुङको हकमा होमस्टे, होटल म्यानेजमेन्ट, इलेक्ट्रिसियन लगायतका पाँच प्रकारका तालिममा कम्तिमा २०-२० जना युवालाई सहभागी गराइने छ ।
उद्योग व्यवसायप्रति युवाको आर्कषण बढाउने र पछिल्लो घटनाक्रमबाट व्यवसायमा देखिएको निराशा चिर्ने लक्ष्य यो परियोजनाले राखेको छ ।
व्यवसायलाई कसरी सफल बनाउने, उद्यम विकासमा आर्कषण थप्ने विषयमा सोमबार आयोजित कार्यक्रमका सहभागीले चासो राख्नुभएको थियो ।
लगानीको सुरक्षा अहिलेको प्राथमिकता र आवश्यकता भएको भन्दै व्यवसायीले त्यसका लागि राज्यको प्रतिबद्धता चाहिने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष तथा व्यवसायी संजिवबहादुर कोइरालाले उद्यमी युवालाई प्रोत्साहन गर्दै लगानी भित्राउने र सुरक्षाको ग्यारेन्टीको अभियान चाल्नुपर्ने बताउनुभयो
बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले युवा पलायन बढी रहेको, लगानीको सुरक्षामा चुनौती देखिएको बेला यो परियोजना आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्किल अपग्रेड इन्स्योर परियोजनाकी कार्यक्रम अधिकृत प्रतिमा गुरुङले परियोजनाको उद्देश्य र युवालाई लक्षित गर्नुको कारणबारे चर्चा गर्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष नरेश कंडेलले यो अभियानले व्यवसाय प्रवर्धन गर्दै बागलुङमा व्यवसायिक क्षेत्रका नयाँ आयाम थप गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
पछिल्लो समय बागलुङमा व्यवसाय घटेको गुनासो आइरहेको बेला यो प्रकारको अभियानले नयाँ उद्यम शुरु गर्न पहल पुग्नुका साथै लगानी जुटाउने अवसर मिल्ने कँडेलको भनाइ थियो ।