• ३ असार २०८१, सोमबार

लाइन तानियो, बिजुली आएन

blog

कालीकोट समाचारदाता

कालीकोट, जेठ ११ गते । कालीकोटका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि लाइन विस्तार भए पनि बिजुली बल्ने सुरसार छैन । जिल्लाका नौ वटै स्थानीय तहमा विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम भएको भए पनि हालसम्म बिजुली जोड्ने सुरसार देखिएको छैन । 

नेपाल विद्युत् प्राधिकरणले कालीकोटका पाँच ठाउँमा सबस्टेसन राख्ने योजना अनुसार काम भइरहेको बताएको छ । कालीकोट वितरण केन्द्रका प्राविधिक जयाप्रसाद पाण्डेले पलाँता र पचालझरनामा विद्युत् लाइन विस्तारको काम भइरहेको बताउनुभयो । उहाँले अहिले रास्कोट र नाग्मको सबस्टेसनको काम भइरहेको र अन्य ठाउँमा लाइन मर्मत, विस्तार, पोल गाड्ने काम जारी रहेको जानकारी दिनुभयो । 

जिल्ला सदरमुकाम मान्म, रास्कोट, सबस्टेसन नाग्म, रास्कोट, पलाँता गाउँपालिकाको थिर्पु, तिलागुफा नगरपालिकाको धनडा र नाग्म गरी पाँच ठाउँमा सबस्टेसन निर्माण गरिने बताउनुभयो ।

 पचालझरना र पलाँता गाउँपालिका जाने लाइन विस्तार भएको पाँच वर्ष बिते पनि अहिलेसम्म बिजुली आएको छैन । कार्यालयले लाइन विस्तारको काम भएका अन्य ठाउँमा पनि विद्युत् नपुगेकाले सबस्टेसन निर्माणसँगै प्रसारण लाइन निर्माण गर्ने योजना बनाएको थियो । 

२०७८ सालमा राष्ट्रिय प्रसारण लाइन कालीकोट पुगे पनि गाउँमा बिजुली बाल्न पाएका छैनन् । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र मान्म सदरमुकाममा मात्र सेवा दिन सुरु भएको राष्ट्रिय प्रसारणले लाइन गत वर्षदेखि नरहरिनाथ गाउँपालिका–१, तिलागुफा नगरपालिका–६ र शुभकालिका गाउँपालिकाभित्रका केही बस्तीमा विस्तार गरेको थियो । 

पलाँता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले तत्काल राष्ट्रिय प्रसारण लाइनभन्दा पनि स्थानीय सरकारले जीर्ण रहेका गाउँका ससाना लघु जलविद्युत् आयोजनाको मर्मत गर्नुपर्ने बताउनुहुन्छ । 

पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले समयमा विद्युत् प्रसारण लाइन सुचारु नहुँदा तानिएका लाइनमा खिया लाग्ने हो कि भन्ने चिन्ता भएको बताउनुभयो ।