• ५ जेठ २०८१, शनिबार

ओखलढुङ्गामा काँग्रेसले उम्मेदवार टुङ्ग्यायो

blog

शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख ११ गते ।
नेपाली काँग्रेस ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख–उपप्रमुख पदको उम्मेदारहरुको नाम टुङ्ग्याएको हो ।

काँग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले सिद्धिचरण नगरपालिकाको प्रमुखमा काँग्रेस जिल्ला कार्यसमितिका सभापति समेत रहनुभएका तेजेन्द्र खनालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो । 

यसैगरी, सुनकोशी गाउँपालिकामा अध्यक्ष कमल तामाङ, उपाध्यक्ष सुनिता अधिकारी, खिजीदेम्बा गाउँपालिका अध्यक्षमा भुपेन्द्र बस्नेत, उपाध्यक्षमा सुशिला तामाङ, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली राई र उपाध्यक्षमा माया राईलाई काँग्रेसले उम्मेदवार बनाएका सदस्य खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार चम्पादेवी गाउँपालिका अध्यक्षमा नबराज केसी, लिखु गाउँपालिका अध्यक्षमा अशोक कार्की, मोलुङ गाउँपालिका अध्यक्षमा प्रकाश दाहाल र चिशङ्खुगढी गाउँपालिका उपाध्यक्षमा सन्तोष बाबु थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सिद्धिचरण नगरपालिका उपमेयर, चिशङ्खुगढी गाउँपालिका अध्यक्ष, लिखु, मोलुङ, र चम्पादेवी गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार माओवादी केन्द्रको भागमा परेको छ । अहिलेसम्म माओवादी केन्द्रले चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षको उम्मेदवारबाहेक आफ्नो भागमा परेका अन्य पालिकाहरुको उम्मेदवारको टुङ्गो लगाएको छैन ।

माओवादी केन्द्र ओखलढुङ्गाका अध्यक्ष निशान्त शर्मालाई चिशङ्खुगढी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाइएको छ । माओवादीको भागमा परेका सिद्धिचरण नगरपालिका उपमेयर, लिखु, मोलुङ, र चम्पादेवी गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार आज बेलुका सम्म टुङ्गीने माओवादी केन्द्र प्रदेश कमिटी सदस्य हेमसागर पाराजुलीले जानकारी दिनुभयो ।

आ–आफ्नो भागमा परेका वडाहरुको अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुको नाम टुङ्ग्याउने काम उन्तिम चरणमा पुगेको नेपाली काँग्रेस र माओवादी केन्द्रले जनाएका छन् । ओखलढुङ्गामा काँग्रेस र माओवादी केन्द्र विच चुनावी गठबन्धन भएको थियो ।