• २ असार २०८१, आइतबार

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्दै प्रशासन

blog

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि घोराही बजारमा अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सावित्री पुनसहितको टोली । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, जेठ १० गते । दाङमा जिल्ला प्रशासन कार्यालयले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्न थालेको छ । निषेधित क्षेत्रमा खुल्ला रूपमा सुर्तीजन्य पदार्थ बिक्री वितरण हुने गरेको जनगुनासो बढेपछि प्रशासनले अनुगमन गर्दै निषेधित क्षेत्रमा राखिएको सुर्तीजन्य पदार्थ जफत समेत गर्ने गरेको छ । 

अस्पताल, विद्यालय लगायतका सार्वजनिक क्षेत्र नजिकमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला प्रशासनले घोराही तथा तुलसीपुर क्षेत्रमा अनुगमन गर्दै पसलमा राखिएको जफत गर्ने गरेको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सावित्री पुनले जानकारी दिनुभएको छ ।  

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा सार्वजनिक स्थलमा कसैले धूम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचबिखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा एकसय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने व्यवस्था गरेको छ । तर सार्वजनिकस्थलमै राखेर सुर्तीजन्य पदार्थ विक्री हुने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नियमनमा कडाइ गरेको सहायक प्रमुख जिल्ला अधिकारी पुन बताउनुहुन्छ । 

अनुगमनका क्रममा घोराही क्षेत्रमा अस्पताल तथा विद्यालय क्षेत्र वरपरका पसलबाट बिक्री वितरणमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरिएको जिल्ला अनुगमन समितिको संयोजक एवं प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी पुनले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयले घोराही तथा तुलसीपुर क्षेत्रमा रहेका विद्यालयको एक सय मिटर क्षेत्रमा पर्ने विद्यालयहरूको अनुगमनलाई तीव्रता दिएको छ । उहाँले अनुगमनका क्रममा पहिलो पटक सार्वजनिकस्थल नजिकमा सुर्तीजन्य पदार्थ विक्री गरेकाले उक्त सामग्री जफत गर्ने गरेको भन्दै पुनः अनुगमनका क्रममा भेटिए जरिवाना गरिने बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी पुनले भन्नुभयो, "सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्नु हुँदैन भनेर व्यवसायीलाई सचेत बनाउनका लागि अनुगमन गरिरहेका छौ । अहिले  भेटिएको सामग्री जफत गर्ने आइन्दा बिक्री वितरणको काम नगर्न सचेत गराउने गरेका छौ । पुनः अनुगमनका क्रममा भेटिए प्रचलित ऐन अनुसार कारबाही गर्नेछौँ ।"

सार्वजनिक सूचनामार्फत सार्वजनिक स्थानहरू सरकारी कार्यालय, विद्यालय, अस्पताल, बाल गृह, वृद्धाश्रम लगायतका स्थानहरूको एक सय मिटरभित्र सुर्ती र मदिराजन्य पदार्थहरू सेवन र बिक्री वितरण नगर्न भनेको थियो । सोही अनुरूप स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय इकाई, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य सङ्घ, प्रहरी, पत्रकारलगायतको उपस्थितिमा बजार अनुगमन गरिएको थियो । 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको २०६८ को ऐनमा सार्वजनिकस्थलमा कसैले धूम्रपान गर्न नपाइने, चुरोट बट्टामा मात्र बिक्रीवितरण गर्नुपर्ने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सार्वजनिक स्थलभन्दा एक सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुनेलगायतका कुरा उल्लेख गरिएको छ । सोही ऐनको आधारमा घोराहीमा रहेका विद्यालय क्षेत्र वरपरका पसलबाट बिक्री वितरणमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरिएको छ ।