• १४ असार २०८२, शनिबार

विपत् स्वयंसेवक तयार

blog

विपत् स्वयंसेवकलाई तालिम दिँदै सशस्त्र प्रहरीका प्रशिक्षक । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार १४ गते । बाढी तथा डुबानलगायतका मनसुनजन्य विपत्बाट हुने क्षति न्यूनीकरण गर्न बाँकेमा पहिलो पटक ‘समुदाय विपत् स्वयंसेवक’ तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले युवालाई तालिम दिएर पहिलो पटक समुदाय विपत् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटर शमशेरगन्जले २५ जना युवालाई तालिम दिएर समुदाय विपत् स्वयंसेवक बनाएको हो । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले मनसुनजन्य विपत्लाई ध्यानमा राख्दै राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका २५ जना युवालाई तालिम दिएर समुदाय विपत् स्वयंसेवक तयार पारिएको बताउनुभयो । उहाँले स्थानीय तह र वडास्तरमा विपत् स्वयंसेवक तथा विपत् सूचक तयार पार्ने नीति अनुसार युवालाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका विपत्का हिसाबले अत्यन्तै जोखिममा रहेकाले बढीभन्दा बढी समुदाय विपत् स्वयंसेवक तयार गर्न जरुरी रहेको बताउनुभयो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटर शमशेरगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोदकुमार भारतीले समुदायस्तरमा घट्ने विभिन्न विपत्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवनरक्षाका लागि स्थानीय नागरिकलाई सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटर शमशेरगन्जको आयोजना, राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा कारितास नेपाल र बी–ग्रुपको सहजीकरण र सहकार्यमा स्वयंसेवकका लागि तालिम सञ्चालन गरिएको हो । 

प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले तालिममा विपत् व्यवस्थापन प्रणाली, विपत् व्यवस्थापनसम्बन्धी जानकारी, मेडिकल फस्ट रेस्पोन्डर अर्थात् विपत् स्थलमा पुगेपछि घाइतेको जीवनरक्षाका लागि गरिने पहिलो उपचारसम्बन्धी सिप सिकाउने, बाढीपहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नि नियन्त्रण र वनडँढेलो नियन्त्रणमा कसरी काम गर्ने, डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धारलगायतका विषयवस्तुमा सिप प्रदान गरिएको बताउनुभयो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वर डिसीले १८ दिनको तालिम राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा प्रदान गरिएको बताउनुभयो । सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा पाँच सय जना विपत् स्वयंसेवक तथा विपत् सूचक तयार गर्दै छ । आगामी आर्थिक वर्षभित्र देशभर तीन हजार ६७५ जना समुदाय विपत् स्वयंसेवक तथा विपत् सूचक तयार गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रत्येक वडामा २५ जना विपत् सूचक तयार गर्ने लक्ष्य रहेको छ ।