• २४ पुस २०८१, बुधबार

परीक्षणका लागि कृषकको प्याजखेती

blog

धुर्कोट गाउँपालिका –६, चौरासीका रोमाकान्त भण्डारी प्याजबारीमा ।

रमेश विश्वकर्मा

गुल्मी, जेठ ९ गते । गुल्मीको धुर्कोट गाउँपालिका –६, चौरासीका रोमाकान्त भण्डारीले यहाँ परीक्षणको रुपमा प्याजखेती सुरु गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा भाडामा लिएर पहिलो पटक यहाँ प्याजखेती सुरु गर्नुभएको हो ।  

विगत नौ वर्षदेखि काठमाडौंको कीर्तिपुरमा जग्गा भाडामा लिएर तरकारी खेती, कुखुरापालन गर्दै आउनुभएका भण्डारीले यस वर्षदेखि यहाँ प्याजखेती सुरु गरेको बताउनुभयो । 

आफ्नै गाउँघरमा केही हुन्छ कि भन्ने उद्देश्यले बाँझो रहेको खेतमा परीक्षणका रुपमा प्याजखेती सुरु गरेको उहाँले बताउनुभयो । प्याजखेतीको बजार व्यवस्थापन कस्तो हुन्छ, भन्ने प्रतीक्षामा रहेको भन्दै प्याजखेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले प्रोत्साहन गरेको बताउनुभयो । 

प्याजखेतीको परीक्षणका लागि कृषि ज्ञान केन्द्रले प्याजको बिरुवा पनि सहयोग गर्नुका साथै आवश्यक प्राविधिक सल्लाह तथा गोडमेलका लागि सहयोग गरेको छ । सिँचाइको समस्या रहेको भन्दै आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने योजना भण्डारीले बताउनुभयो । पाँच रोपनी जग्गामा एक क्विन्टल प्याजका बेर्ना लगाइएको भन्दै राम्रो बजार पाए आगामी दिनमा थप २४ रोपनी जग्गामा प्याजखेती विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रको आर्थिक वर्ष २०८०–८१ को प्याजखेती प्रदर्शन कार्यक्रम अन्तर्गत यहाँ रेड त्रियोल जातको प्याजखेती परीक्षणका लागि बेर्ना सहयोग गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।