• ९ मंसिर २०८१, आइतबार

आश्रम बस्न रुचाउँदैनन् सडक मानव

blog

सरोज आचार्य

काठमाडौँ, वैशाख ११ गते । पशुपति क्षेत्रबाट २० जना सडक मानवलाई गत साता मानव सेवा आश्रम पु-याइयो तर सात दिन पनि नबित्दै उनीहरू फेरि पशुपति क्षेत्रमा आइपुगे ।राजधानीलाई सडक मानवमुक्त बनाउन २०६९ सालदेखि मानव सेवा आश्रमले काठमाडौँ महानगरपालिकाको सहकार्यमा अभियान चलाउँदै आएको छ । अभियान सुरु भएपछि सडक मानव देखिन छाडेका थिए तर पछिल्लो समय उनीहरू पुनः देखिन थालेका छन् । सडक मानव बढ्नुमा केही आश्रमबाट नै फर्किएका र केही नयाँ छन् । 

पशुपतिनाथका पूर्वकोतवाल पूर्णनारायण जोशीले संरक्षणका लागि लगिएका कतिपय सडक मानव आश्रमबाट फर्किएर सडकमै आएर माग्न थालेको बताउँदै बाटोघाटोमा माग्दा राम्रो कमाइ हुने भएकाले सडकमा फर्किने गरेको बताउनुभयो । आश्रम पुगेर पुनः पशुपति क्षेत्र आइपुग्नुभएका सिरहा गोलबजारका राजु साहले आश्रममा बस्दा बालबच्चा पढाउन कठिन भएकोले आफूसहित साथीहरू आम्दानीका कारण आश्रमबाट फर्किएको बताउनुभयो । 

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष डा. गोविन्द टण्डनले मासिक २० देखि २५ हजार रुपियाँ नपाउञ्जेल आश्रममा टिकाउन कठिन हुने बताउनुभयो । उहाँका अनुसार मागेरै बालबच्चालाई पढाइरहेका, डेरा भाडा तिरिरहेका र अन्य खर्चसमेत मागेरै जुटाइरहेकाहरूले सहर, बजार र धार्मिकस्थलमा निकै भीडभाड गर्ने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–२५ का वडाध्यक्ष नीलकाजी शाक्यले एका बिहानै कालभैरव, महाँकाल, भद्रकाली, मरु गणेशलगायतका स्थानमा माग्नेहरूको ताँती लाग्ने गरेको बताउनुभयो । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले सडक मानवलाई व्यवस्थित गर्न आफूहरूले सक्दो प्रयास गरिरहेको बताउनुभयो । आश्रमले महानगरपालिकाको सहकार्यमा रानीवन, गोङ्गबु, भक्तपुरको बालकोटलगायतका स्थानमा संरक्षणका लागि लैजाने गरेको छ ।