• ४ जेठ २०८१, शुक्रबार

डब्लूएचओको प्रशंसा (सम्पादकीय)

blog

गत असार महिनामा नेपाली काँग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन सरकारको गठनपछि राष्ट्रको सन्तुलित परराष्ट्र नीतिले अग्रता लियो । परिणामस्वरूप अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख अनि प्रतिष्ठामा अभिवृद्धि हुनुका साथै विश्वको चासो बढेको तथ्य निर्विवाद छ । यसै क्रममा विभिन्न महत्वपूर्ण भ्रमणहरूले निरन्तरता पाइरहेका छन् । मित्रराष्ट्र साउदी अरेबिया तथा चीनका विदेशमन्त्रीको भ्रमण केही समयअघि सम्पन्न भइसकेका छन् भने संयुक्तराज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डल हाल नेपाल भ्रमणमा छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको स्कटल्यान्डमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरूको शिखर सम्मेलनमा जनाउनुभएको सहभागिता तथा हालै सम्पन्न भारतको औपचारिक भ्रमण नेपालको छवि उँचो पार्ने कडी हुन् । यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससको भ्रमण महत्वपूर्ण रह्यो ।

यस्ता भ्रमण आदानप्रदानबाट नेपाल तथा ती मुलुक र संस्थाबीचको आपसी विश्वास अनि सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने विषयमा कुनै शङ्का छैन । कोरोना (कोभिड–१९) सङ्क्रमणको महामारी पूर्ण रूपमा अन्त्य नभइसकेको अवस्थामा डब्लूएचओका कार्यकारीको यो भ्रमण नेपालका लागि निकै महत्वपूर्ण मान्न सकिन्छ । यस भ्रमणबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि डब्लूएचओबाट थप सहयोग प्राप्त हुने वातावरण तयार हुने विषय अर्थपूर्ण छ । चीन, भारतलगायत केही युरोपीय मुलुकमा केही समययतादेखि बढ्दो गतिमा देखिएको कोरोना सङ्क्रमणकोे सन्त्रास व्याप्त छ । यसको रोकथामका लागि जुनसुकै बेला पनि डब्लूएचओको मद्दतको आवश्यक पर्न सक्छ । त्यसो त सन् २०१७ मा पाँचवर्षे कार्यकालका लागि राष्ट्रसङ्घीय निकाय डब्लूएचओको महानिर्देशकमा चयन हुनुभएका उहाँ अर्को कार्यकालका समर्थनका निम्ति नेपाल आउनुभएकोसमेत बुझ्न कठिन हुँदैन । तथापि डब्लूएचओका कार्यकारीको यस भ्रमणले नेपालको सुधार उन्मुख स्वास्थ्य क्षेत्रलाई उत्साहित बनाएको छ । 

अफ्रिकी राष्ट्र इथियोपियाको विदेश तथा स्वास्थ्यमन्त्रीको पद सम्हालिसक्नुभएका डा. टेड्रोसले कोरोना उत्कर्ष पुगेका बेला विशेषगरी अमेरिकी आलोचनाको सामना गरेरै भए पनि डब्लूएचओलाई जुन प्रकारले नेतृत्व प्रदान गर्नुभयो, सो वास्तवमै प्रशांसनीय कार्य थियो । अहिले पनि विशेषगरी तेस्रो विश्वका राष्ट्रमा कोरोना रोकथाम एवं नियन्त्रणमा यो संस्थाको जीवनदायी भूमिकालाई नकार्न सकिँदैन । डब्लूएचओ आफ्नो भूमिका तथा उद्देश्य प्राप्तिमा निरन्तर सफल हुने अपेक्षा गर्न सकिन्छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. टेड्रोसले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट एवं स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य उच्चपदस्थसँगको भेटमा उहाँले स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विचार आदानप्रदान गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएर स्तरीय स्वास्थ्य सेवा वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको विषयमा प्रकाश पार्नुभयो । 

नेपालजस्ता विकासशील राष्ट्र्का लागि कोरोनाविरुद्धका खोपको आपूर्ति एवं उपलब्धता हरेक दृष्टिकोणबाट पक्कै पनि सहज होइन । स्थिति यस्तो भए पनि विश्वकै मापदण्डमा अधिकांश नेपाली कोरोनाविरुद्धको खोप लगाएर सुरक्षित बन्न सफल भए । यो वास्तवमै सरकारको प्रशंसनीय कार्य थियो । डब्लूएचओले पनि यस कार्यको मूल्याङ्कन गरेको प्रतीत भयो । महासचिव टेड्रोसले धेरैभन्दा धेरै नेपालीलाई पूर्ण कोरोना खोप लगाउन सकेकोमा प्रशंसा गर्नु नेपालका लागि सन्तोषको विषय हो । यसबाट कोरोना नियन्त्रणमा नेपालको रणनीति प्रभावकारी भएको सन्देश पनि प्रवाहित भएको छ तथापि अझै पनि जनसङ्ख्याको केही अंश कोरोनाविरुद्धको खोपबाट वञ्चित भएको पाइएको अवस्थामा लाखौँ डोज खोप खेर जाने अवस्थामा खोपबाट वञ्चित बढीभन्दा बढी जनतालाई खोप सुनिश्चितताको व्यवस्था सरकारले गर्नु वाञ्छनीय हुन्छ ।

स्वास्थ्य विषयलाई नेपालले निकै गम्भीरताका साथ लिने गरेको प्रमाण दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप लगाउने कार्यको सुरुवात यहीँबाट भएबाट समेत प्रमाणित हुन्छ । यस्तै नेपालले बाल तथा मातृ मृत्युदर कम गर्नुका साथै अन्य विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगति पनि उल्लेखनीय छ । डब्लूएचओको कार्यकारीबाट भएको यस भ्रमणले नेपाल र सो संस्थाबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ हुनुका अतिरिक्त आउँदा दिनमा सहकार्यका लागि सहज हुने आधार तय भएको छ ।