• १२ साउन २०८१, शनिबार

चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु

blog

बाबुराम कार्की 

वराहक्षेत्र, जेठ ४ गते । चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दम लगायतका दीर्घ रोग सम्वन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो । 

वराहक्षेत्र नगरपालिकाको वडा नम्वर २ चतरामा रहेको चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा अस्पतालले दीर्घ रोगहरु सुगर, प्रेसर, मुटु, किड्नी र दम रोग सम्बन्धी क्लिनिक सेवाको विस्तार गरेको छ । दीर्घ रोगका सम्बन्धि उपचार सेवाको उद्घाटन वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले गर्नु भएको थियो । नगरवासीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन र कुनै पनि नगरबासी नागरिकले रोग लुकाएर बस्नु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थाको विकास गर्न स्थानीय सरकार लागि परेको उहाँले बताउनुभयो । 

केएचडिसि नेपाल र चतरा अस्पतालको सहकार्यमा सञ्चालित भएको क्लिकमा बिरामीको उपचार गर्न सुरु गरिएको छ । अस्पतालमा सेवा लिन आउने बिरामीहरुमध्ये सबैभन्दा बढी बिरामीहरु नसर्ने दीर्घ रोगीहरु भएकाले नसर्ने रोग उपचारको लागि क्लिनिकको सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता यम भण्डारीले जानकारी दिनुभयो । नसर्ने रोग क्लिनिक सञ्चालको लागि केएचडिसि नेपालले एक जना चिकित्सक लाई नियुक्त गरेको छ । 

क्लिनिक उद्घाटन कार्यक्रममा केएचडिसि नेपालका संरक्षक समेत रहनु भएका प्राध्यापक डाक्टर संजीव शर्माले जचाऔं, मृगौला मुटु बचाऔं भन्ने नारासहित चतरा अस्पतालमा नर्सने रोग सम्बन्धी क्लिनिक सुरु गरिएको बताउनुभएको छ । 

चतरा अस्पताले २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, प्रसुति, फिजोयोथेरापी सेवा, एम्बुलेन्स, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्सरे, हरेक दिन स्त्री तथा प्रसूती , सेवाहरू  सञ्चालन गदै आएको अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले जानकारी दिनुभयो ।

२०७८ सालमानै देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गराउँन सफल चतरा अस्पतालले अस्पतालबाट दिइने सेवालाई बढाउँदै लगेको चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्वर २ का वडा अध्यक्ष होमप्रसाद गौतमले जानकारी दिनुभयो ।

अस्पतालले नगरबासीको सहजतालाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन र शनिवार बिहान ७ बजेदेखि बेलुकी ८ बजे सम्म अस्पतालका चिकित्सकद्वारा निःशुल्क बहिरङ्ग सेवा र २४ घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।